
तीनजुरे–मिल्के–जलजले क्षेत्रको आरआर गार्डेन प्रवेशद्वारमा राखिएका ब्यानरहरूले वातावरणीय सन्तुलन र सौन्दर्यमा नकारात्मक असर पारेका छन्। स्थानीय व्यक्ति छिरिङ लामाले आरआर गार्डेनको आकर्षण घटेको भन्दै ब्यानर हटाउन आवश्यक भएको र सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्। उनले भने, “आरआर गार्डेन गुराँसको राजधानीको मुख्य आकर्षण र प्रवेशद्वार हो, पछिल्लो समय ब्यानरको अत्यधिक प्रयोगले सौन्दर्य घटिरहेको कारण हटाउनु आवश्यक छ।”
गेट नजिक राखिएका ब्यानरहरूले जैविक विविधता प्रभावित गरेको र गार्डेनको आकर्षण घटाएको छ। चैते सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काले ब्यानर राख्ने कार्यलाई नियन्त्रण गर्न केही पहल भए तापनि पर्याप्त नभएको बताएका छन्। उनले गार्डेनलाई सुन्दर बनाउन योजना तयार गरिएको र चाँडै उक्त योजना कार्यान्वयन गरिने जानकारी दिए।
तीनजुरे-मिल्के-जलजले क्षेत्रलाई दीर्घकालीन रूपमा संरक्षण गर्न योजनाबद्ध र जैविक विविधताको संरक्षण अनिवार्य भएको माग उठ्न थालेको छ। स्थानीयहरूले सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न स्पष्ट मापदण्ड तय गर्नुपर्ने र निश्चित स्थान तोकेर मात्र ब्यानर राख्ने व्यवस्था आवश्यक रहेको सुझाएका छन्।
आरआर गार्डेन अहिले सामान्य भेटघाट, घुम्न र फोटो खिच्नको लागि लोकप्रिय स्थान बन्दै गएको छ। हरियाली वातावरण, खुल्ला क्षेत्र र सहज वातावरणका कारण दैनिक रूपमा आगन्तुकको सङ्ख्या बढ्दैछ। तर, गार्डेन परिसरमा अनियन्त्रित रूपमा राखिएका फ्लेक्स र ब्यानरहरूले क्षेत्र अव्यवस्थित देखिएको स्थानीयहरूले गुनासो गरेका छन्।

