नेपालको उत्कृष्ट प्रदर्शनले स्कटल्यान्डलाई पराजित गर्दै लिग–२ मा स्थान सुधार

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ४ जेठमा त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डलाई पराजित गरेको छ। लेग स्पिनर सन्दीप लामिछानेले ७३ ओडीआईमा १५० विकेट लिन सफल भई सबैभन्दा छिटो १५० विकेट लिने बलरको कीर्तिमान कायम गरेका छन्। नेपालले सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिँदै २७ खेलबाट २२ अंक जोडेको छ भने स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका बलिङ र ब्याटिङ दुवै पक्षले उत्कृष्ट प्रदर्शन गरेका थिए। यस जितसँगै नेपालले अघिल्लो २ रनले व्यहोरेको हारको बदला समेत लिएको छ। गत मंगलबार भएको खेलमा नेपाल डीएलएस मेथडअनुसार स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो।
खराब फर्ममा रहेका कप्तान रोहित पौडेल र लगातार विकेटविहीन बनेका ललित राजवंशीले यस खेलमा जित निकाल्न महत्वपूर्ण भूमिका खेले। ललितले स्कटल्यान्डको बिरुद्ध ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिएर टीमलाई १९४ रनमै रोक्न मद्दत गरे। उनले पछिल्ला ९ ओडीआईमा २ विकेट लिएका थिए। अर्का स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएर स्कटल्यान्डलाई दबाबमा राखे। स्कटल्यान्डले १२६ रन जोड्दा ३ विकेट गुमाएको थियो र थप ६८ रन थप्दा सात विकेट गुमाइसकेको थियो। सोमपाल कामी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि एक-एक विकेट लिए।
ब्याटिङमा पनि नेपालले राम्रो प्रदर्शन गर्यो। कुशल भुर्तेल र आसिफ शेखले खेलमा उत्कृष्ट ओपनिङ साझेदारी गर्दै पहिलो विकेटका लागि ६.४ ओभरमा ५८ रन जोड्न सफल भए। कुशल २७ बलमा २८ रन र आसिफ १७ बलमा २९ रनमा आउट भए। त्यसपछि रोहित र इशान पाण्डेले तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको बाटो खोलिदिए। कप्तान रोहितले ९८ बलमा ७४ रन बनाएर अविजित रहेका थिए भने इशानले पहिलो अर्धशतक पूरा गर्दै ६१ बलमा ५५ रनमा आउट भए। उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आारिफ शेखले २३ बलमा ८ रन जोडेर रोहितलाई समर्थन गरे।
शीर्ष स्थानको स्कटल्यान्डविरुद्धको खेलअघि नेपाल सातौं स्थानमा रहेको थियो। त्यस जितसँगै नेपाल दुई स्थान उक्लिएर पाँचौं स्थानमा पुगेको छ। २७ खेल खेलिसकेको नेपालले २२ अंक जोडेको छ। नामिबिया २८ खेलबाट २२ अंकसहित छैटौं स्थानमा रहेको छ। २४ खेलबाट २१ अंक जोडेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक जोडेको युएई अंक तालिकाको अन्त्यमा छन्। पराजित भए पनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित पहिलो स्थानमा कायम छ। अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ। ओमन २८ खेलबाट ३१ अंकसहित तेस्रो र नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित चौथो स्थानमा छन्।
लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा स्कटल्यान्डविरुद्ध २ विकेट लिनुहुँदै ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने बलरको कीर्तिमान बनाएका छन्। उनले ७३ ओडीआईमा १५० विकेट पुरा गरेका छन्। यसअगावै उक्त कीर्तिमा अस्ट्रेलियाका मिचेल स्टार्क थिए, जो ७७ खेलमा १५० विकेट लिएका थिए। सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान समेत कायम गरेका छन्, जुन उनले ४२ खेलमै पूरा गरेका थिए।
सन्दीपले आफ्नो यो सफलता टोलीका सबै सदस्यको साथले सम्भव भएको बताए। उनले भने, ‘पहिलो दिन टीयू इन्टरनेशनल क्रिकेट मैदानमा पहिलो पाइला राख्दा एउटा सपना देखेको थिए, देशका लागि राम्रो गर्ने। आजसम्मको यात्रामा रेकर्ड बनाउन पाएँ भने त्यो राम्रो मन र राम्रो तरिकाले अघि बढ्न सक्दा सबै कुरा मिल्दै जाने हो। यसमा धेरैको हात छ जसलाई म धन्यवाद दिन चाहन्छु।’
लिग–२ सिरिजको पछिल्ला खेलहरूमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले पछिल्ला ७ खेलमा मात्र १६ विकेट लिएको छ। लिग–२ मा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीमध्ये तेस्रो स्थानमा छन्। उनले २१ खेलबाट ३९ विकेट लिएका छन्। ओमानका शकील अहमद २२ खेलबाट ४९ विकेट र नामिबियाका बनार्ड स्कोल्ज २६ खेलबाट ४५ विकेट लिएर क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।

