Skip to main content

सिरहामा खैरो हेरोइनसहित दुई जनाको पक्राउ

सिरहा नगरपालिका–१४ मा प्रहरीले लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ का सरोज विक र राजु लामा रहेका छन्। प्रहरीले मोटरसाइकलबाट प्लास्टिकसहित ४३७ मिलिग्राम र ६ ग्राम २१० मिलिग्राम हेरोइन बरामद गरेको छ।

प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले माडरबाट सिरहातर्फ जाँदै गरेको ज.४ प. १३८८ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरेको हो। प्रहरीले बतायो कि मोटरसाइकल चालक सरोज विकको साथबाट प्लास्टिकसहित ४३७ मिलिग्राम तथा प्लास्टिकबाहेक २०० मिलिग्राम पदार्थ फेला परेको थियो।

त्यसैगरी मोटरसाइकलको पछाडि सवार राजु लामाको साथबाट प्लास्टिकसहित ६ ग्राम २१० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १०० मिलिग्राम लागु पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ भने प्रयोग गरिएको मोटरसाइकल प्रहरी चौकी खिरौनाको नियन्त्रणमा राखिएको छ।