Skip to main content

पुराना जिन्सको पुनः प्रयोगका थरीथरीका उपाय

जिन्सको बलियो कपडाबाट टिकाउ झोला र डोरम्याट निर्माण गर्न सकिन्छ जुन दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ। हामीमध्ये धेरैका दराज तथा र्‍याकहरू पुराना कपडाले भरिएका हुन्छन्। लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका कपडा हामीसँग धेरै हुन्छन्। नयाँ–नयाँ कपडा थपिँदै जाँदा राख्ने ठाउँकै समस्या भएपछि जति माया लागेपछि हामीले त्यस्ता कपडा फाल्नैपर्ने हुन्छ। यदि यस्ता कपडाको थुप्रोमा जिन्स कपडा छ भने हामीले त्यसलाई फालिहाल्नु पर्दैन। खुइलिएर फिका भएका र फेसन आउट भएर हामीलाई लगाउन मन नलाग्ने जिन्सबाट घर सजावटका सामग्रीदेखि झोलासमेत बनाउन सकिन्छ।

पुरानो जिन्सलाई कसरी पुन: प्रयोग गर्ने त? कुशन कभरहरू बनाउने पुरानो जिन्स धेरै बलियो हुन्छन्, त्यसैले तिनीहरूबाट आर्कषक कुशन कभरहरू निर्माण गर्न सकिन्छ। जिन्सका विभिन्न भागहरू काट्नुहोस् र प्याचवर्क डिजाइनहरू सिर्जना गर्नुहोस् र तिनीहरूलाई एकै ठाउँमा जोडेर सिलाउनुहोस्। यदि जिन्सको खल्ती राम्रो अवस्थामा छ भने, तिनीहरूलाई कुशनमा थप्दा नयाँ डिजाइन दिन सकिन्छ। ब्याग बनाउने पुरानो जिन्सबाट बच्चाहरूका खेलौना तथा विभिन्न सामग्री हालेर राख्न मिल्ने ब्याग बनाउन सकिन्छ। ल्यापटप कभर, किनमेल गर्नका लागि बजार लैजान मिल्ने झोला तथा अन्य निभिन्न खालका झोला पनि बनाउन सकिन्छ।

जिन्सको कपडा बलिय हुने भएकाले यसबाट बनाइएको झोला बलियो र टिकाउ समेत हुन्छ। यदि हाम्रो घर तथा कोठामा सानातिना सामग्रीहरू छरिएर रहेका छन् र तिनलाई राख्ने उचित ठाउँ मिलिरहेको छैन भने पुरानो जिन्स धेरै उपयोगी हुन सक्छ। जिन्सका खल्तीहरू काट्नुहोस् र तिनीहरूलाई कार्डबोर्ड वा बाक्लो कपडामा सिलाउनुहोस्। अनि यसलाई भित्तामा झुण्डाएर राख्नुहोस्। तपाईंले चाबीहरू, चार्जरहरू, कलम, ब्रशहरू, वा बच्चाका साना खेलौनाहरू भण्डारण गर्न सक्नुहुन्छ।

पुरानो जिन्स बाक्लो र टिकाउ हुन्छ, त्यसैले तिनीहरूलाई डोरम्याट बनाउन पनि प्रयोग गर्न सकिन्छ। जिन्सलाई लामो लामो आकारमा काट्नुहोस् र तिनीहरूलाई सिलाएर एकै ठाउँमा जोड्नुहोस्। त्यसपछि, डोरम्याट तयार हुन्छ। आवश्यकता अनुसार सिंगल र डबल कपडासहितको डोरम्यान बनाउन सक्नुहुन्छ। यदि तपाईं आफ्नो कोठा तथा बरण्डाहरूमा विरुवा रोप्न चाहनुहुन्छ भने त्यसमा जिन्स उपयोग हुन सक्छ। पुरानो जिन्सबाट झुण्ड्याउने खालका गमला बनाउन सकिन्छ। साना भाँडाहरूका लागि कभरहरू सिर्जना गर्न जिन्सको खल्ती वा तल्लो भाग प्रयोग गर्नुहोस्। तपाईको कोठा तथा घरलाई फरक र सुन्दर रुप दिन्छ।