Skip to main content

चराहरूले आफूलाई कसरी चिन्छन्?

लेखकले अमेरिकामा दुर्लभ श्वेताँखीभौं चराको खोजी गरी ५३३औं लाइफर भेटेको अनुभव सुनाए। भँगेरा चराहरूमा प्रजननमा फरक रंगका भाले र पोथीले गुँड रक्षा र हेरविचार गर्ने व्यवहार उल्लेख गरियो। क्याम्ब्रिज विश्वविद्यालयको अध्ययनले चराहरूले आफ्नो प्रतिबिम्ब चिन्न सक्ने सम्भावना र गीत सिकाइमा भिन्नता देखाएको छ।

आइतबार बिहान निद्रा खुल्न नपाई फोनमा आँखा पर्‍यो। मेरो फोनमा दुई–चार वटा महत्त्वपूर्ण याप बाहेक खासै कुनै यापको पनि नोटिफ़िकेसन अन थिएन। अन भएका मध्येमा एउटा थियो– ग्रुप मि। डिस्कर्ड जस्तै यो याप मेसेज गर्नको लागि प्रयोग हुन्छ र यहाँ चरा हेर्नेहरूले धेरैजसो त्यो याप प्रयोग गर्छन्। ग्रुप मिमा पनि हत्तपत्त मेसेज आउँदैन, केही अनौठो वा दुर्लभ चरा आएको खण्डमा आउँछ। त्यहाँ नोटिफ़िकेसन देख्न नपाई मेरो निद्रा खुल्यो। हतारहतार के भयो भनेर हेरें। गारगने इन सदर्न मिनेसोटा लेखेको देखें। गारगने वा नेपालीमा श्वेताँखीभौं एशिया र युरोपमा पाइने चरा हो। अमेरिकामा एकदम दुर्लभ फिरन्ते। लाइफर श्वेताँखीभौं त मैले कोशी टप्पु वन्यजन्तु आरक्षमै देखिसकेको थिएँ, तर अमेरिकाको लागि भने यो चरा लाइफर नै हुन्थ्यो।

त्यतिबेला मेरो अमेरिकाको लाइफर ५३२ थियो! ५३३ नम्बरको त्यो चराको पछि नलागी भएन भनेर हामी ३ घण्टा परको त्यो ठाउँतिर लाग्यौं। हामी त्यहाँ पुग्दा मध्यदिन भइसकेको थियो। एउटा खेतको छेउमा पानी जम्मा भएको ठाउँमा टन्नै हाँसहरू थिए। हामीले सरर्र हेर्‍यौं। श्वेताँखीभौं देखेनौं। पानी जम्मा भएको ठाउँमा भएका बाँकी हाँस पनि टाढाबाट त्यही श्वेताँखीभौं झैं देखिन्थे। केलाई–केलाई हेर्दै बस्यौं तर भेटेनौं। केहीबेर पछि एउटा भिन्न झुण्डका हाँसहरू त्यहाँ अवतरण गरे। मैले दूरबिन सरर्र घुमाएर हेरें, सबै उस्तै देखिने हाँसमा एउटा छुट्टै थियो। श्वेताँखीभौं! खोजेको चरा भेटियो!