
सेयर बजार बिहीबार १२.३६ अंकले घटेर नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ। बजार घट्दा कारोबार रकम बढेर ३ अर्ब ८२ करोडबाट ३ अर्ब ८९ करोड पुगेको छ। ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको र सबै समूहका सूचक १ प्रतिशतभन्दा कमले घटेको छ। ७ जेठ, काठमाडौं। अघिल्लो दिन ३० अंकले बढेको सेयर बजार बिहीबार १२.३६ अंकले घटेको छ। यस गिरावटपछि नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ। बजार घट्दा कारोबार रकम भने केहीले वृद्धि भएको छ। अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार हुँदा आज ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ। आज बजार दिनभरि रातो अंकमा रहेको छ। आज ७२ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचकमा गिरावट देखिएको भए पनि ती सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, जलविद्युत् ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य समूह ०.३१ प्रतिशतले घटेका छन्। व्यापार समूह भने स्थिर रहेको छ। बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ। मूल्य धेरै बढाउने समूहमा बैंक तथा वित्तीय संस्थाका डिबेन्चरहरू अग्रस्थानमा छन्। अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशतले ह्रास भएको छ। त्यस्तै, झापा इनर्जी ८.१२ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ७.४० प्रतिशत र सिटी होटेलको मूल्य ३.८० प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीहरूमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स रहेका छन्।

