Skip to main content

नेपालबाट पत्रकार रामबहादुर रावलसहित ९८ पत्रकार बेइजिङमा सहभागी

चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटीले ‘सीआइपीसीसी २०२६’ कार्यक्रम बेइजिङमा उद्घाटन गरेको छ। कार्यक्रममा ९० देशका ९८ पत्रकार सहभागी छन् र ग्लोबल साउथ सहकार्य सघन बनाउने उद्देश्य राखिएको छ। नेपालबाट पत्रकार रामबहादुर रावल सहभागी छन् र उनले अन्तर्राष्ट्रिय सञ्चार सहकार्य र अन्तरसांस्कृतिक समझदारीको महत्त्व औंल्याएका छन्।

७ जेठ, काठमाडौं। चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ। ९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ।

उद्घाटन समारोहमा चिनियाँ वरिष्ठ अधिकारी, कूटनीतिज्ञ, शिक्षाविद् तथा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व, युरेसिया र मध्य तथा पूर्वी युरोपका सहभागी पत्रकारहरूले सम्बोधन गरेका थिए। प्रमुख वक्ताका रुपमा सहायक परराष्ट्रमन्त्री होङ लईले ९० देशका पत्रकारहरूको सहभागिताले ग्लोबल साउथको एकता र सहकार्यको उत्कृष्ट नमुनालाई प्रदर्शन गरेको बताए।

रावलद्वारा नेपालको प्रतिनिधित्व गर्दै नेपालबाट पत्रकार रामबहादुर रावल सहभागी छन्। करिब दुई दशकदेखि मूलधारको सञ्चारमाध्यममा सक्रिय रावलले नेपालखबर डटकम, ग्यालेक्सी टेलिभिजन, कान्तिपुर टेलिभिजन लगायतका न्यूजरुममा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। रावल अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारको जिम्मेवारी पूरा गरेर चीन भ्रमणमा गएका हुन्।