गुगलले प्ले स्टोरमा ‘आस्क-प्ले’ र ‘साइडकिक’ फिचरमार्फत एप खोज्न र गेम खेल्न सहज बनाउने घोषणा

गुगलले आफ्नो सम्पूर्ण प्रविधि प्रणालीलाई जेमिनी एआईमा केन्द्रित गर्ने रणनीतिअनुरुप एन्ड्रोइडको ‘प्ले स्टोर’ मा व्यापक परिवर्तनको घोषणा गरेको छ। गुगल आई/ओ मा यसअघि प्रस्तुत गरिएका यी नयाँ सुविधाहरूले प्रयोगकर्तालाई नयाँ एप वा गेमहरु खोज्न सजिलो बनाउनेसँगै गेम खेल्दा एआईको प्रत्यक्ष सहयोग पनि प्रदान गर्नेछन्। जेमिनी एआईले वेब र एन्ड्रोइड दुवै प्लेटफर्ममा प्रयोगकर्ताको रुचि अनुसार एप तथा गेमहरू सिफारिस गर्नेछ। यसै वर्ष अन्तसम्ममा यो सेवालाई अझ व्यापक बनाउँदै प्ले स्टोरमा रहेको ४ लाख ५० हजारभन्दा बढी चलचित्र, टिभी शो, र प्रत्यक्ष खेलकुद स्ट्रिमिङको जानकारी दिने गरी एआई सिफारिस प्रणाली विस्तार गरिने गुगलले जनाएको छ।
यदि तपाईँ प्ले स्टोरमा कुनै विशेष एप वा गेम खोज्दा अलमलमा हुनुहुन्छ भने अब जेमिनी-संचालित नयाँ च्याटबोट ‘आस्क प्ले’ ले तपाईँलाई सहयोग गर्नेछ। यो एक विशेष ओभरले स्क्रिन हो, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको एपका बारेमा दैनिक भाषामा प्रश्न सोधेर सही विकल्प पत्ता लगाउन सक्छन्। यसले प्ले स्टोरमा पहिलेदेखि रहेको प्रश्नोत्तर टुललाई अझ सटिक बनाउँदै सर्च नतिजाको माथिल्लो भागमा ‘हाइलाइट्स’ को रूपमा मुख्य जानकारीको सारांश पनि देखाउँछ।
गेम खेल्न रुचाउनेहरूका लागि गुगलले ‘प्ले गेम्स साइडकिक’ नामक एआई सहायक ल्याएको छ। खेल खेलिरहेको बेला स्क्रिनको कुनामा खुल्ने यो फिचरले खेल जित्नका लागि एआई-गेम सुझावहरू र विभिन्न ‘अचिभमेन्ट्स’ प्राप्त गर्न मद्दत गर्नेछ। गत मार्चदेखि केही प्रयोगकर्ताका लागि उपलब्ध गराइएको यो फिचर अब विश्वभर विस्तार हुँदैछ। यसमा नयाँ सामाजिक फिचरहरू पनि थपिएका छन्, जसले तपाईँका कुन साथीहरूले त्यही गेम खेलिरहेका छन् भन्ने सजिलै देखाउँछ। गुगलले एप विकासकर्ताहरूका लागि पनि जेमिनी उपकरणहरू उपलब्ध गराएको छ, जसले उनीहरूलाई आफ्ना एपहरूलाई स्थानीयकरण गर्न सहयोग गर्नेछ। साथै, बजारमा चलिरहेका चर्चित सर्च ट्रेन्डहरूको आधारमा आफ्ना एप विवरणहरूमा स्वतः अपडेट गर्ने गरी प्रयोगकर्तामाझ एपको पहुँच बढाउन सक्नेछन्। यो अपडेटसँगै गुगल प्ले स्टोर केवल एप डाउनलोड गर्ने ठाउँ मात्र नभई जेमिनी एआईको सहयोगमा नयाँ डिजिटल सामग्रीहरू अन्वेषण गर्ने स्मार्ट चौतारी बन्ने संकेत देखिन्छ।

