नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय

नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिका लागि बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म अनलाइन बोलपत्र (बिड) मार्फत ब्याजदर निर्धारण गरी रकम राख्न सक्नेछन्। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिंदै आह्वान गरिएको रकम बाँडफाँड गर्ने जनाएको छ। ८ जेठ, काठमाडौं।
नेपाल राष्ट्र बैंकले ६१ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत शुक्रबार बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ। कर्जा प्रवाह कम हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहँदैछ। यसको असर ब्याजदरमा परेको छ। राष्ट्र बैंकले विभिन्न माध्यमबाट अधिक तरलता तान्ने कार्य गर्दै आएको छ।
यो निक्षेप उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूले राख्न चाहेको रकम तथा ब्याज दर स्वीकार गरेर दिउँसो ३ बजेसम्म अनलाइन बिड गर्न सक्नेछन्। यस बोलपत्रबाटै ब्याजदर निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरू न्यूनतम १० करोडदेखि अधिकतम उक्त आह्वान रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान रकम अनुसार बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

