
एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्ष उमेर हद र दुई कार्यकाल प्रावधान हटाउनु गल्ती भएको भन्दै पद छोड्न प्रस्ताव गरेका छन्। उपाध्यक्ष पौडेलसहित चार जना उपाध्यक्षले ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्ने सम्भावना नभएको र कार्यकर्तामा निराशा छ भनेका छन्। ओलीले पार्टी लाइन विपरीत जानेलाई कारबाही गर्ने धम्की दिएपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न उठाएका छन्। ८ जेठ, काठमाडौं।
जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन्। गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन्। यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ। शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान हटाउनु गल्ती भएको उल्लेख गर्दै अब मार्गप्रशस्त गर्न प्रस्ताव गरेका छन्।
उपाध्यक्ष पौडेलले अहिलेको अवस्थामा पार्टीको नेतृत्व गर्न नसक्ने भन्दै अब बाटो छोडिदिन भनेका हुन्। चुनावमा पार्टीको लजास्पद पराजयपछि नै नेतृत्वले अब विश्राम लिनुपर्ने लाइनमा उभिएका पौडेलले शुक्रबार पार्टी सचिवालयको बैठकमा औपचारिक रुपमै यो प्रस्ताव अघि बढाएका हुन्। नेतृत्वले पद छोड्नुपर्ने यो लाइनमा अब चार जना उपाध्यक्ष उभिएका छन्। उपाध्यक्षहरू मध्येको दोस्रो वरीयतामा रहेका पौडेलले औपचारिक रुपमै नेतृत्व फेर्ने खालको धारणा राखेपछि एमाले अब स्पष्ट रुपमा दुई कित्तामा विभाजित भएको छ।
‘अब तपाईंको नेतृत्वमा पार्टी अगाडि बढ्ने सम्भावना छैन, तल कार्यकर्तामा चरम निराशा छ’ भन्ने धारणा उपाध्यक्षहरू पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण बिष्टको थियो। उनीहरूले अध्यक्षको विकल्पको धारणा राखेपछि उपाध्यक्ष रामबहादुर थापा बादलले मात्र त्यसको प्रतिवाद गरेका थिए। उपाध्यक्ष थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए। आफ्नो नेतृत्वमाथि प्रश्न उठाउँदै अन्य उपाध्यक्षहरूले धारणा राखेपछि अध्यक्ष ओलीले भने बादलले भनेको कुरालाई नै पार्टीको लाइन भएको बताए।
अध्यक्ष ओलीले अराजकता लगायतको आरोप लगाएपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए। उनले भने, ‘आज बैठकमा निकै चर्काचर्की भयो। अध्यक्षले अन्तिम अन्तिमतिर अलि कडा भाषाहरू प्रयोग गर्नुभयो। त्यसको जवाफ दिँदै पृथ्वी सुब्बा गुरुङले पनि त्यसमा धेरै कडा प्रतिक्रिया दिँदै भन्नुभयो- यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो? तपाईंलाई आफ्ना सहकर्मीहरूसँग मर्यादित कुरा गर्न आउँदैन?’ बैठकमा उपाध्यक्ष पौडेलले पार्टी पराजयको समीक्षा गर्नुपर्ने र त्यसको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका थिए।
पौडेलले भने, ‘असफलताको जिम्मा लिएर तपाईंले मार्गप्रशस्त गर्नुपर्छ। ७० वर्षको उमेर हद र दुई कार्यकालको विषय जसरी हिजो पार्टी जीवनको लोकतान्त्रीकरण भनेर उठाइएको थियो, त्यसमा हामीले साथ र समर्थन दियौँ। तरपछि त्यो प्रावधान हटाउनुभयो र हामीले मान्यौँ। त्यो मान्नु नै हाम्रो गल्ती रहेछ। अब ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायम राखेर जानुपर्छ।’ बैठकमा ओलीले राख्ने र छोड्ने दुई कित्ता स्पष्ट देखिएपछि अध्यक्ष ओलीले आफैले ‘अध्यक्षलाई हटाउनुपर्छ भन्ने धारको नेतृत्व विष्णु पौडेलले गर्नुभयो अर्को धारको नेतृत्व रामबहादुर थापाले गर्नुभयो’ भन्दै व्यंग्य गरेका थिए।

