
समाचार संक्षेप एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको निजी कम्पनी हो?’ भनी प्रश्न गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले पार्टीलाई सच्चिन आवश्यक भएको बताएका छन्। एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको कडा भाषा प्रयोगप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि उक्त बैठक स्थगित भएको थियो। ८ जेठ, काठमाडौं।
एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘‘पार्टी तपाईंको निजी कम्पनी हो?’’ भन्दै प्रश्न गरेका छन्। अध्यक्ष ओलीले आफू सच्चिनेभन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अगाडि नचल्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए।
‘आजको बैठकमा निकै चर्काचर्की भयो। अध्यक्षले अन्तिमतिर अलि कडा भाषा प्रयोग गर्नुभयो। त्यसको जवाफ दिँदै पृथ्वी सुब्बा गुरुङले पनि धेरै कडा प्रतिक्रिया जनाउँदै भन्नुभयो – यो पार्टी तपाईंको निजी कम्पनी हो? तपाईंलाई आफ्ना सहकर्मीहरूसँग मर्यादित कुरा गर्न आउँदैन?’ एक नेताले भने। ओलीले पार्टीको लाइन विपरीत जानेहरूलाई कार्यविभाजन नहुने लगायत संकेत गरेपछि गुरुङले प्रतिवाद गरेका छन्। उनले यस्तो अवस्थामा पार्टी सच्चिनुपर्ने बताएका छन्। सच्चिनुको सट्टा झन् धम्की दिइएपछि उनले आपत्ति जनाएका थिए। चर्काचर्कीपछि बैठक स्थगित भएको थियो।

