
कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र स्पेनका गैरआवासीय राजदूत ह्वाँ एन्टोनियो मार्च पुजोलबीच कृषि आधुनिकीकरण र द्विपक्षीय सहकार्य विस्तारमा छलफल भएको छ। राजदूत पुजोलले सन् २०२७ मा हुने एफएओ महानिर्देशक निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताए। मन्त्री चौधरीले नेपालमा कृषि डिजिटलाइजेसन, भौगोलिक संकेत दर्ता र जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता औँल्याइन्। ८ जेठ, काठमाडौं।
मन्त्री चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत ह्वाँ एन्टोनियो मार्च पुजोलबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको छ। राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसेबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताए।
उनीले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसेबिलिटी प्रणाली, सुन्तला, सिट्रस तथा अंगुर खेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराए। उनले स्पेनमा आयोजना हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनहरूमा उत्पादक, लगानीकर्ता तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहने जानकारी दिँदै नेपाललाई पनि यस्ता अवसरमा सहभागी हुन आग्रह गरे।
मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखी काम गरिरहेको बताइन्। उनले नेपालमा भौगोलिक संकेत (जीआई) दर्ता प्रक्रिया सुरु गरिएको र सुन्तला तथा किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्। मन्त्री चौधरीले नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि प्रविधि तथा जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता उल्लेख गरी परम्परागत कृषिलाई बजारसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिइन्।
त्यस्तै वन संरक्षण प्रयासबीच नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले स्पेनको अनुभव तथा विज्ञताबाट सिक्न नेपाल इच्छुक रहेको बताइन्। भेटमा नेपाल–स्पेनबीच कृषि, प्रविधि, जल व्यवस्थापन तथा दिगो कृषि विकास क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो।

