
९ जेठ, सन्धिखर्क। सन्धिखर्क नगरपालिका–११, डिभर्नामा अवस्थित प्राकृतिक चट्टानहरूको अनौठो संसार ‘रक गार्डेन’ हाल अर्घाखाँचीको प्रमुख पर्यटकीय गन्तव्य बन्ने क्रममा छ। सन्धिखर्क बजारबाट करिब २० मिनेटको यात्रा पछि पुग्न सकिने यो स्थानमा प्रकृतिले आफैं कुँदेको जस्तो विशाल चट्टानहरू, ढुङ्गाको बगैंचाजस्तो फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र चासोका साथ पल–पल परिवर्तन हुने मौसमले भ्रमणकर्तालाई मोहित बनाउँछ। पहिलो पटक रक गार्डेन पुग्नेहरू चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्यचकित हुन्छन्। कतै मानवले कलात्मक रूपमा कुँदेको झैँ, कतै योजनाबद्ध रुपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू पूर्ण रूपमा प्राकृतिक सिर्जना हुन्।
सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो ढुङ्गाको जंगलले आगन्तुकलाई रहस्य, सौन्दर्य र शान्तिको अनुभूति एकसाथ गराउँछ। बढ्दो पर्यटक आगमनका कारण रक गार्डेन अहिले बिस्तारै आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दैछ। जिल्लाका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ भ्रमणमा आउने क्रम बढेको छ। स्वच्छ वातावरण, चिसो मौसम र मनोरम प्राकृतिक दृश्यहरूले शहरको भिडभाडबाट टाढा भएर मानसिक ताजगी पाउने मौका दिन्छन्, स्थानीयले बताएका छन्। ‘पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ,’ सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले भने, ‘हामीले प्रकृतिको यो अनुपम उपहारलाई अझ व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिएका छौं।’
नगरपालिकाले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन विभिन्न कामहरू अघि बढाइसकेको छ। पर्यटकहरूको सुविधा बढाउन शौचालय, विश्रामस्थल र मन्दिर निर्माण गरिएको छ। साथै, दीर्घकालीन पर्यटन विकास रणनीति पनि तयार पारिरहेको छ। फोटोग्राफी र सुर्योदयको विशेष आकर्षण रक गार्डेनको अर्को पक्ष हो जहाँबाट विशाल भू–दृश्य देख्न सकिन्छ। यहाँबाट न केवल सन्धिखर्क नगरपालिकाको पदचिह्न देखिन्छ, तर भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदेव गाउँपालिका साथै पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू पनि सजिलै अवलोकन गर्न सकिन्छ। विशेषगरी सुर्योदय र सूर्यास्तको बेला यहाँको दृश्य अत्यन्तै मनमोहक हुन्छ, जसले प्रकृतिप्रेमी र फोटोग्राफीमा रुचि राख्नेहरूलाई आकर्षित गरेको छ।
पर्यटन सर्किटमा जोड्ने योजना अनुसार स्थानीय युवा नारायण आचार्यले भने, “उचित प्रचारप्रसार र संरक्षण गरियो भने रक गार्डेन नगरकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।” उनले थपे, “अहिले जिल्लाभित्रबाट बढी पर्यटक आउँछन्, तर बाहिरी जिल्लामा पनि यसको पहिचान पुर्याउन सकिएमा यसको महत्व अझ बढ्नेछ।” स्थानीय व्यवसायी डिलाराम भुसालले भने, “लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकिएमा जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुनेछ। यसले होटल, यातायात र स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पुर्याउँछ।”
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार खाँचीकोट भगवती मन्दिर, सिद्धेश्वर मन्दिर र अर्घा भगवती हुँदै रक गार्डेनसम्म जोड्ने पर्यटन सर्किटको योजना अघि बढिरहेको छ। उनले भने, “पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्नु हाम्रो मुख्य उद्देश्य हो।” सन्धिखर्कका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भने, “व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सबै सरोकारवाला पक्षको ध्यान पुगेमा रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुनेछ।”

