दक्षिण कोरियामा उत्तर कोरियाका महिला फुटबलरहरूले उपाधि जित्न प्रतिस्पर्धा गर्दै

दक्षिण कोरियाको राजधानी सोलको दक्षिणतर्फको सुवोनस्थित फुटबल रंगशालामा बुधबार भारी वर्षा र हावाहुरी भए तापनि पाँच हजारभन्दा बढी दर्शकहरू त्यहाँ उपस्थित थिए। वर्षा मुरिरहेको बेला पनि उनीहरू दर्शक दीर्घामा बसेर हुटिङ गरिरहेका थिए, किनभने उनीहरू उत्तर र दक्षिण कोरियाबीचको दुर्लभ खेल हेर्दै थिए। त्यहाँ अनौंठो कुरा के थियो भने सयौं दक्षिण कोरियालीहरूले “नेगोह्याङ” (उत्तर कोरियाली फुटबल क्लबको नाम) को नारा लगाउँदै हुटिङ गरिरहेका थिए। उनीहरूलाई स्थानीय गैरसरकारी संस्थाहरूले ल्याएका थिए, जसले दुवै पक्षलाई उत्साहित गर्ने वातावरण बनाउन चाहन्थे।
शुरुमा उत्तर कोरियाली टोलीको सहभागितामा शंका गरिएको थियो। किनभने दुई देशबीच किम जङ अनले पछिल्लो समयमा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्दै, परमाणु कार्यक्रमलाई निरन्तरता दिंदै सम्बन्ध बिग्रेको छ। सन् २०२३ मा उनले लामो समयदेखिको पुनः एकीकरणको योजना औपचारिक रूपमा त्यागेका र दक्षिण कोरियालाई ‘शत्रुतापूर्ण राज्य’ घोषणा गरेका छन्। तर टोली अपेक्षित रूपमा आइपुग्यो। यो टोली सन् २०१८ पछि पहिलो पटक सीमा पार गरेर दक्षिण कोरियामा आएको हो। नेगोह्याङ महिला फुटबल क्लबले एसियाली महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा जित सहित पुनः आगमन गर्यो। उनीहरूले दक्षिण कोरियाको सुवोन एफसी विमेनलाई २-१ ले हराए। शनिबार फाइनलमा जापानको टोकियो भेर्डी बेलेजासँग प्रतिस्पर्धा गर्नेछ।
फुटबलका समर्थकहरू एवं उत्तर कोरियाको इतिहासलाई चिनेका मानिसहरूका लागि यो नतिजा कुनै आश्चर्यको विषय थिएन। उत्तर कोरियाले महिला फुटबलमा लामो समयदेखि राम्रो प्रतिष्ठा कमाएको छ। फिफा वरियतामा यो टोली ११ औं स्थानमा छ र जापानपछि दोस्रो उत्कृष्ट एशियाली टोली हो। नाएगोह्याङ क्लब सन् २०१२ मा प्योङयाङमा स्थापना भएको थियो र २०२२ मा उत्तर कोरियाली लिगको उपाधि जितेको थियो। टोलीमा राष्ट्रिय महिला टोलीका धेरै खेलाडीहरू छन् र हाल पूर्व राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले व्यवस्थापन गरिरहेका छन्।

