Skip to main content

विराटनगर महानगरपालिका लगातार तेस्रो पटक इटहरी मेयर कपको च्याम्पियन

विराटनगर महानगरपालिकाले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा लगातार तेस्रो पटक उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विराटनगरले कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। विराटनगरका कप्तान फिर्दोस अन्सारी प्लेयर अफ द फाइनल घोषित भए भने दिपेश कँडेल सर्वोत्कृष्ट खेलाडी र बेस्ट बलर घोषित भएका छन्।

फाइनल खेल इटहरीस्थित डीभीएम स्कुल परिसरको खेल मैदानमा भएको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। कृतिक कामतले अविजित ५६ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। कप्तान फिर्दोस अन्सारीले पनि आक्रामक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाएका थिए। कटहरी गाउँपालिकाले १ सय ६८ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन मात्र बनाउन सक्यो।

कटहरीका कप्तान लव कामतले ४९ रन बनाए भने रुद्र प्रताप शाहले २९ रन जोडे। विराटनगरका श्रवण किस्कु, अमर यादव र श्रवण यादवले समान २–२ विकेट लिँदै कटहरीको ब्याटिङलाई दबाबमा राखेका थिए। उपाधिसँगै विराटनगर महानगरपालिकाले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता कटहरी गाउँपालिकाले ४० हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका कप्तान फिर्दोस अन्सारी ‘प्लेयर अफ द फाइनल’ घोषित भए र उनले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए। दिपेश कँडेलले सर्वोत्कृष्ट खेलाडी र बेस्ट बलर बनेर क्रमशः ७ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा कोशी प्रदेशका १२ वटा पालिकाका टोलीहरूको सहभागिता रहेको थियो।