
नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा ५८औं स्थानमा रहेको छ। नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि ५८औं स्थानमा उक्लिएको हो। एफआईभीबीको महिला वरियतामा नेपाल ५८.९९ अंकसहित ५८औं स्थानमा छ भने भारत ६४औं स्थानमा रहेको छ।
९ जेठ, काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा समावेश भएको छ। घरेलु कोर्टमा भइरहेको एफआईभीबीको विश्व वरियतामूलक काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि नेपालको महिला टोली वरियतामा समावेश भएको हो। एफआईभीबीको पछिल्लो अपडेट अनुसार महिलातर्फ नेपाल ५८औं स्थानमा उक्लिरहेको छ। शनिबार कीर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपालले ठूलो फड्को मारी ५८औं स्थान दिशामा प्रगति गरेको हो।
शुक्रबार भारत विरुद्ध पहिलो खेलपछि नै नेपाल वरियतामा समावेश भएको थियो। भारतसँग ३-२ सेटमा पराजित भएता पनि नेपाल ६२औं वरियतामा थियो। एफआईभीबीका अनुसार नेपालको अंक ५८.९९ रहेको छ। भारत भने नेपालभन्दा पछि ६४औं स्थानमा रहेको छ। त्यस्तै, कीर्गिस्तान ६३औं स्थानमा छ। माल्दिभ्स ६६औं, बंगलादेश ६८औं र श्रीलंका ८५औं स्थानमा छन्। नेपालमा प्रतियोगिता खेल्न आएका अन्य राष्ट्रहरु मध्य कजाखस्तान ३६औं र इरान ४५औं स्थानमा छन्। एफआईभीबीको महिला वरियतामा हाल ९४ राष्ट्र आधिकारिक रूपमा समावेश छन्। युरोपियन राष्ट्र इटाली विश्व वरियतामा शीर्ष स्थानमा रहँदा एसियाबाट जापान पाँचौं र थाइल्यान्ड १८औं स्थानमा छन्।

