Skip to main content

सांसद सिंहले सामाजिक सञ्जालमा फैलिएको हो-हल्ला अतिरञ्जित भएको बताए

रास्वपा सांसद चन्दन सिंहले बारामा आयोजित विस्तारित बैठकमा सामाजिक सञ्जालमा फैलिएको हो–हल्ला अत्यन्त अतिरञ्जित रहेको बताएका छन्। पूर्व सभापति चन्दन स्वर्णकारको उक्साहटमा पाँचजना कार्यकर्तालाई अनुशासन कारबाहीका लागि सिफारिस गरिएको छ। बैठकले बाराका चार निर्वाचन क्षेत्रका सांसदका पाँच–पाँच प्रतिनिधि सहित तदर्थ जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको छ। ९ जेठ, बारा। रास्वपा सांसद चन्दन सिंहले शनिबार बारामा बसेको विस्तारित बैठकमा सामाजिक सञ्जालमा फैलिएको हो–हल्ला अत्यन्त अतिरञ्जित भएको बताएका छन्। सांसद सिंहका अनुसार पार्टीबाटै निष्कासनमा परेको पूर्व सभापति चन्दन स्वर्णकारको सुनियोजित उक्साहटमा पर्न पुगेका पाँचजना कार्यकर्तालाई अनुशासन कारबाहीका लागि सिफारिस गरिएको छ। ‘हामीलाई उनीहरूको योजनाबारे बिहानै जानकारी थियो र त्यसै अनुरूप हामीले कार्यक्रमको रणनीति बनाएका थियौं,’ उनले बताए।

बैठकस्थलमा आएर मात्रै हो–हल्ला गरिएको भन्दै सांसदलाई हटाइयो भन्ने प्रचारले अत्यन्तै दु:ख लागेको उनले बताए। ‘हामी अहिले पनि बैठकस्थलमै छौं, र बैठक जे प्रयोजनका लागि आह्वान गरिएको थियो, त्यही अनुसार सम्पन्न भएको छ,’ सांसद सिंहले भने। शनिबार कैलायस्थित करणराज पार्टी प्यालेसमा बसेको विस्तारित बैठकमा विघटित जिल्ला सभापति स्वर्णकारका उक्साहटमा गरिएको हो–हल्लालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिएको सांसद सिंहले स्पष्ट पारे।

बारा–२ बाट निर्वाचित सांसद सिंहले आफूहरू अहिले पनि बैठकस्थलमै रहेको र बैठक सम्पन्न गरेको जानकारी दिए। ‘हामी बैठक सम्पन्न गरेर निर्णय सार्वजनिक गर्ने प्रक्रियामा कार्यक्रम स्थलमै छौं,’ उनले उल्लेख गरे। सांसद सिंहका अनुसार बाराका चारै निर्वाचन क्षेत्रका सांसदको पाँच–पाँच प्रतिनिधि सहित तदर्थ जिल्ला कमिटी गठन गर्ने निर्णय शनिबारको बैठकले गरेको छ। ‘अहिले बारा जिल्लामा वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका लागि तदर्थ समिती गठन गर्ने निर्णय गरिएको छ,’ उनले थप जानकारी दिए।