भारतमा ९ दिनमै तेस्रो पटक इन्धन मूल्यवृद्धि, नेपालमा पनि प्रभाव पर्ने संकेत

भारतमा पेट्रोल र डिजेलको मूल्य ९ दिनभित्र तेस्रो पटक वृद्धि गरिएको छ र दिल्लीमा पेट्रोलको मूल्य ९९.५१ भारतीय रुपैयाँ तथा डिजेलको मूल्य ९२.४९ भारतीय रुपैयाँ पुगेको छ। नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले भारतमा भएको मूल्य वृद्धिले नेपालमा पनि प्रभाव पार्न सक्ने सम्भावना छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतका तेल कम्पनीहरूले घाटामा परेकाले मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको हो।
९ जेठ, काठमाडौं । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य अभिवृद्धि भएको छ। दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ रुपैयाँ पुगेको छ। भारतीय मिडियाहरूका अनुसार यो मूल्य वृद्धि ९ दिनभित्र तेस्रो पटक गरिएको हो। यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो भने मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो।
नेपालमा प्रभाव पर्न सक्ने
नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल, डिजेल लगायतका इन्धन खरिद गर्छ। त्यसैले भारतमा इन्धनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपालमा पनि पर्न सक्नेछ। नेपाल आयल निगम सञ्चालक समितिका एक सदस्यले भनेका छन्, ‘भारतबाट खरिद मूल्यसूची उच्च दरमा आएमा नेपाल आयल निगमको लागत बढ्छ, त्यसपछि हामीले आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्नुपर्ने स्थिति आउन सक्छ।’ तर अहिले मूल्यमा घटबढ हुनेबारे निश्चित रूपमा भन्न सकिंदैन।
नेपाल आयल निगम सञ्चालक समिति अन्तर्राष्ट्रिय बजारको अवस्था अनुसार स्वचालित प्रणालीबाट करिब १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ। कच्चा तेलको मूल्य लामो समय उच्च रहँदा नेपालमा इन्धन मूल्यमा दबाब थपिन सक्ने देखिन्छ। यसलाई मध्यनजर गर्दै सरकारले इन्धन खपत कम गर्न हाल शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ।
भारतमा किन बढ्यो इन्धनको मूल्य?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव यसको मुख्य कारण हो। इरान र अमेरिकाबीच युद्ध सुरु हुनु अघि कच्चा तेलको मूल्य प्रति बैरल ७० डलर थियो, अहिले त्यो १०० डलर प्रति बैरलभन्दा माथि पुगेको छ। तेल महँगिएपछि तेल कम्पनीहरूले आर्थिक दबाबमा परे र घाटा पूरा गर्न मूल्य बढाउनु परेको छ। यदि कच्चा तेलको मूल्य लामो समय उच्च रह्यो भने पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरसँग भारतीय रुपैयाँको विनिमय दरको आधारमा इन्धन मूल्य निर्धारण गरिन्छ। सरकारी तेल कम्पनीहरूले ‘डेली प्राइस रिभिजन’ अथवा ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार दैनिक बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्छन्। उपभोक्तासम्म पुग्नुअघि विभिन्न कर र खर्च थपिएपछि अन्तिम मूल्य आधार मूल्यभन्दा धेरै माथि पुग्ने गर्दछ।
२०२४ यता मूल्य स्थिर थियो
मार्च २०२४ देखि भारतमा पेट्रोल र डिजेलको मूल्य स्थिर थियो। लोकसभा निर्वाचन २०२४ अघि सरकारले मूल्यमा प्रतिलिटर २ रुपैयाँ कटौती गरेर उपभोक्तालाई राहत दिएको थियो। भारतमा राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म दैनिक मूल्य समायोजन नगरे पनि सरकारले अन्तर्राष्ट्रिय बजारको औसत १५ दिनको कच्चा तेल मूल्यका आधारमा समय समयमा मूल्य समायोजन गर्ने व्यवस्था राखेको छ।
सरकारी तेल कम्पनीहरू—इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम—अन्तर्राष्ट्रिय बजारमा तेल महँगिएपछि घाटामा थिए। पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले बताइन कि पेट्रोल, डिजेल र एलपीजी बिक्रीबाट कम्पनीहरूलाई महिनामा करिब ३० हजार करोड भारतीय रुपैयाँ घाटा थियो। यसलाई कम गर्न सरकारले विशेष एक्साइज ड्युटी घटाउने नीति लिएको थियो। पेट्रोलमा १३ रुपैयाँ रहेको शुल्क ३ रुपैयाँमा झारिएको थियो भने डिजेलको शुल्क १० रुपैयाँबाट शून्यमा आएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार तेलंगानामा आयोजित कार्यक्रममा पश्चिम एसियाको भू–राजनीतिक स्थिति मध्यानजर राख्दै पेट्रोलियम पदार्थको संयमित प्रयोग गर्न सुझाव दिएका थिए। उनले पेट्रोल, ग्यास र डिजेलको उपयोग सावधानीपूर्वक गर्न आग्रह गर्दै विदेशी मुद्रा बचत र युद्धको नकारात्मक प्रभाव कम गर्न आवश्यक रहेको बताउनुभएको थियो।

