Skip to main content

कांग्रेसको कोशी कार्यशालाबाट २८ बुँदे ‘कोशी संकल्प’ सार्वजनिक

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित यस कार्यशालाले राष्ट्रिय र पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्पहरू सार्वजनिक गरेको हो।

संकल्पपत्रमा किरात सभ्यताको उद्गमदेखि सगरमाथा शिरदेखि केचनकवलको पाउसम्म रहेको कोशी प्रदेशको पहिचान, प्रतिष्ठा, संस्कृति, सभ्यता, भाषा, कला, साहित्य, कृषि, पर्यटन, प्राकृतिक स्रोत र सांस्कृतिक वैभवप्रति गर्व व्यक्त गर्दै प्रदेशवासीको भावनाअनुसार यसको संरक्षण र प्रवर्द्धनमा दृढ रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस कार्यशालामा २८ बुँदे संकल्पमा प्रदेशको नामाकरण, नागरिकमुखी जवाफदेही सरकार, विधिको शासन, असल अभ्यास अवलम्बन, प्रदेशको संरचनात्मक र व्यवस्थापकीय सुधार, अनलाइन र घर आँगनमै सेवा, वित्तीय अनुशासन, योजना बैंक, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र युवालक्षित नवप्रवर्द्धन, ‘उद्यमी आमा’ कार्यक्रम, विराटनगर-इटहरी औद्योगिक कोरिडोर, आध्यात्मिक पर्यटन पथ, जल पर्यटन, स्वास्थ्य बीमा ब्रान्डिङ, कोखदेखि शोकसम्म एकीकृत सामाजिक सुरक्षा कार्यक्रम, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, शिक्षामा आन्तरिक लगानी वृद्धि, कोशी राजमार्गको पूर्णता, भूमिहीन दलित र सुकुम्बासीको पुनर्स्थापना, र विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली विकास जस्ता विषयहरू समावेश गरिएको छ।