Skip to main content

ग्वाङ्झाउमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटन गन्तव्य’ सम्मान प्रदान

नेपालले चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर २०२६ मा ‘सबैभन्दा आकर्षक पर्यटन गन्तव्य’ सम्मान प्राप्त गरेको छ। नेपाल पर्यटन बोर्डले तीनदिने पर्वमा वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक तथा लक्जरी पर्यटनका सम्भावनाबारे चिनियाँ र अन्तर्राष्ट्रिय व्यवसायीहरूसँग जानकारी साटासाट गरेको थियो। नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन्, जसले पर्यटन पहुँच विस्तारमा मद्दत पुर्‍याउँछ, बोर्डले जनाएको छ। १० जेठ, काठमाडौं। चीनको ग्वाङ्झाउमा सम्पन्न ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘सबैभन्दा आकर्षक पर्यटन गन्तव्य’ सम्मान पाएको छ। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता र साहसिक पर्यटनको आकर्षणका आधारमा यो सम्मान प्रदान गरिएको हो। २१ देखि २३ मेसम्म तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा ‘नेपालः एक जीवनपर्यटन अनुभव’ नाराका साथ नेपाल पर्यटन बोर्डले सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर र लक्जरी पर्यटनका विभिन्न अवसरबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराएको थियो। चीनको ग्वाङ्झाउ सहर, हङकङ र ग्रेटर बे एरिया नजिक रहेका प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र हुन्, जसले ती क्षेत्रहरूमा नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण बजारको रूपमा काम गर्ने गर्दछन्। विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले बताएको छ। मेलाको उद्घाटन दिन २१ मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै ‘डेस्टिनेसन नेपाल’ सम्बन्धी विशेष प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक र पर्यटन व्यवसायीहरूलाई जानकारी गराइएको थियो। २२ मेमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘देश प्रस्तुति’ दिएका थिए। उनीहरूले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा पनि भाग लिएका थिए। बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले नेपाललाई प्रतिनिधित्व गरेको थियो। नेपालको स्टलमा ‘स्पिन एन्ड विन’ लक्की ड्र कार्यक्रम र वेलनेस पर्यटन प्रवर्द्धनअन्तर्गत नेपाली सिङ्गिङ बाउलको प्रदर्शन प्रमुख आकर्षणका रूपमा रहेका थिए। मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनीले सहभागिता जनाएका थिए। सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटेल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजबारे चिनियाँ र अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिएका थिए। यसअघि नेपाल पर्यटन बोर्डले २० मे २०२६ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँग सहकार्यमा चीनको सेन्जेनमा आयोजित ‘नेपालः एक जीवनपर्यटन अनुभव’ पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रममा समेत सहभागी रहेको थियो। हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालनमा राखेका छन्। यसले नेपाल र चीनबीच पर्यटन पहुँच विस्तार हुने मात्र नभई चिनियाँ पर्यटक आगमनमा वृद्धि हुनेboardको भनाइ छ।