
नर्वेका फुटबल खेलाडी एर्लिङ हालान्डले ५० अन्तर्राष्ट्रिय गोल मात्र ४६ खेलमै पूरा गर्दै ५३ वर्ष पुरानो कीर्तिमान तोडे। हालान्डले म्यान्चेस्टर सिटीलाई पहिलोपटक सन् २०२२/२३ युईएफए च्याम्पियन्स लिग उपाधि जिताउन सफल भए। नर्वेले विश्वकप छनोटमा सबै ८ खेल जितेर ३७ गोल गरेको छ र २८ वर्षपछि विश्वकप खेल्ने तयारीमा छ। १० जेठ, काठमाडौं।
उमेर ५ वर्ष, लङ जम्प १.६३ मिटर। यस्तै एक कीर्तिमान नर्वेका एर्लिङ हालान्डको नाममा छ। सन् २००६ मा हालान्डले गरेको १.६३ मिटर स्ट्यान्डिङ लङ जम्प आजसम्म पनि विश्व कीर्तिमानको रूपमा रहेको छ। सानै उमेरदेखि नै सक्रिय हालान्डलाई किशोरावस्थामै नर्वेको राष्ट्रिय ह्यान्डबल टोलीबाट समेत बोलाइएको थियो। उनी त्यो खेलाडी हुन्, जसले सन् २०१९ मा भएको फिफा यु–२० विश्वकप होन्डुरसमाथि एक्लैले ९ गोल गरेका थिए। तीव्र गतिमा दौडने उनी फिफा विश्वकप २०२६ मा प्रभाव छाड्न सक्ने खेलाडीमध्ये एक मानिन्छन्।
विश्व फुटबलमा अचानक चम्किएका हालान्डले १५ वर्षको उमेरमै नर्वेको क्लब ब्राइनबाट व्यावसायिक फुटबलमा डेब्यु गरिसकेका थिए। त्यसपछि मात्र एक वर्षमा मोल्डे क्लबका लागि पहिलो खेलमै गोल गरेका थिए। सन् २०१९ मा भएको फिफा यु–२० विश्वकपमा नर्वेले होन्डुरसमाथि १२–० को शानदार जित निकाल्यो, जसमा हालान्डले एक्लैले ९ गोल गरेका थिए। सन् २०२० मा बोरुसिया डर्टमन्डमा आबद्ध भएपछि सन् २०२१ मा डीएफबी–पोकल उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
हालान्डले म्यान्चेस्टर सिटीलाई पहिलोपटक सन् २०२२/२३ सिजनको युईएफए च्याम्पियन्स लिग फुटबल उपाधि जिताउन सफल भए। उक्त सिजनमा उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बने। आफ्नो पहिलो तीन सिजनमै म्यान्चेस्टर सिटीलाई दुई पटक प्रिमियर लिग उपाधि जिताउन सफल भएका छन्। बोरुसिया डर्टमन्डका लागि उनको पहिलो पाँच गोल ५६ मिनेटभित्र भएका थिए। त्यसपछिका खेलमा उनी ५० खेलमै ५० गोल पुरा गर्दै सन् १९६५ मा टिमो कोनिएत्स्काले राखेको ५० खेलको पुरानो कीर्तिमान तोड्न सफल भए।

