Skip to main content

‘नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भूमिका महत्वपूर्ण छ’

समाचार सारांश कार्यकारी समीक्षापछि तयार गरिएको। बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो मित्र सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले शिक्षा, सीप विकास र आर्थिक सहकार्यलाई दुई देशबीचको मुख्य साझेदारीका आधारहरू भएको बताइन्। मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरिन्। १० जेठ, काठमाडौं।

बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउनेमा शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताइन्। आफ्नो पहिलो नेपाल भ्रमणमा आयोजित कार्यक्रममा उनले दुई देशबीच २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि सम्झौतामा हस्ताक्षर गरिएको मित्रता सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री मल्होत्राले नेपालका शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहकार्य गर्दै आएको स्मरण गराइन्। उनले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको औंल्याइन्। नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सहयोग गर्न बेलायत इच्छुक रहेको उनको भनाइ छ।

बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इंग्ल्यान्ड’ को अवधारणा नेपालका आवश्यकताअनुसार साझेदारी गर्न सकिने उनले बताइन्। नेपाली विद्यार्थीहरूले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेसनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न सहयोग गर्ने बताइन्। हाल नेपालका ३० वटा क्याम्पसहरूसँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेका छन् र १७ हजारभन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भइरहेको जानकारी उनले दिइन्।

मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबीच ‘लिभिङ ब्रिज’ को भूमिका निर्वाह गरिरहेको बताइन्। बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुसी व्यक्त गर्दै उनले बेलायत पढ्न जाने नेपाली विद्यार्थीहरू छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको बताइन्। भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गरिन्। उनले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गरिन्।