Skip to main content

गर्मीबाट बच्न कुलर प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण सुझावहरू

गर्मीमा कुलर सधैं घाम नपर्ने ठाउँमा राख्नुपर्छ र १० घण्टाभन्दा बढी लगातार चलाउन हुँदैन। अहिले गर्मी दिनप्रतिदिन बढ्दो छ। विशेषगरी नेपालका तराई र तल्लो भेगका समथर क्षेत्रहरूमा गर्मी अत्यधिक मात्रामा बढिरहेको छ। गर्मीबाट राहत पाउनका लागि पंखा, एसी र कुलरहरूको प्रयोग गरिन्छ। यस्ता उपकरणहरूको प्रयोग गर्दा सही तरिका अपनाउनु आवश्यक हुन्छ। गर्मीमा कुलर चलाउँदा केही सावधानीहरू अपनाउनै पर्छ किनकि साना कमजोरीले पनि ठूलो क्षति निम्त्याउन सक्छ।

अत्यधिक तापक्रम, सर्किट सर्ट वा तारमा कमजोरी हुँदा एयर कुलरहरूमा आगो लाग्ने वा विस्फोटको सम्भावना रहन्छ। त्यसैले कुलर प्रयोग गर्दा केही ठूला गल्तीहरूबाट बच्नु आवश्यक छ।

१. मोटर अत्याधिक तातो हुनु: यो समस्या कुलर लगातार चलाउँदा देखा पर्छ। यदि तपाईले गर्मी समयमा १० घण्टाभन्दा बढी समयसम्म कुलर सञ्चालन गर्नुभयो भने मोटर धेरै तातो हुन सक्छ, जसले आगो वा विस्फोट हुने जोखिम बढाउँछ।

२. पानी बिना नै कुलर चलाइरहनु: कहिलेकाहीं कुलर चलिरहेको बेला पानी सकिने गर्दछ। यस्तो अवस्थामा कुलरमा पानी नभएको थाहा नपाउँदा मोटरमा अत्याधिक दबाब पर्दछ र आगो लाग्न सक्ने खतरा हुन्छ।

३. कमजोर तारहरूको प्रयोग: पुराना तार वा सस्तो एक्सटेन्सन बोर्डहरू कुलरका लागि निकै खतरनाक हुन्छन्। बढी लोड हुँदा तारहरू तातो भएर पग्लिन सक्छन्।

४. कुलर सफा नगर्नु: मोटर वा वरपरका भागहरूमा फोहोर जम्मा हुँदा पनि आगो लाग्न सक्ने सम्भावना हुन्छ।

५. कुलरलाई सिधै घाममा राख्नु: धेरैजसो मानिसहरू कुलरलाई घाम पर्ने ठाउँमा राख्ने गर्दछन्। लामो समयसम्म घाममा राख्दा कुलरको मोटर र घामको तापक्रमले कुलर अत्याधिक तातो हुन्छ। त्यसैले कुलरलाई सधैं घाम नपर्ने सुरक्षित ठाउँमा राख्नुपर्छ।