Skip to main content

बालेनको च्यानलमा देखिएको ‘ज्ञानेन्द्र खोज्ने’ गीतको सत्यता के हो?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको आधिकारिक युट्युब च्यानलमा राजतन्त्र पक्षधर एआई निर्मित गीत जोडिएपछि सामाजिक सञ्जालमा बहस चलेको छ। प्राविधिक विज्ञहरूले भन्छन् कि ‘डिस्ट्रोकिड’ जस्ता डिजिटल वितरकको लुपहोल प्रयोग गरेर कसैले बालेनको नाममा उक्त गीत युट्युबमा लिङ्क गराएको हो। यसअघि स्थापित गायकहरू सुशान्त केसी र समिर श्रेष्ठको आधिकारिक युट्युब प्रोफाइलमा पनि प्राविधिक त्रुटिका कारण अन्य गीतहरू लिङ्क भएका थिए। १० जेठ, काठमाडौं । ‘शिरमाथि नेपाल आमालाई काँधमाथि ज्ञानेन्द्र राजालाई’ यी गीतका शब्दहरू युट्युबमा केही दिनदेखि चर्चामा छन्। प्रधानमन्त्री बालेन शाहको आधिकारिक युट्युब च्यानलको नाममा देखिएको यो गीतमा त्यस च्यानलमा आएको जस्तो उल्लेख्य भ्यूहरू भने छैनन्। तीन महिना अघि (२० फेब्रुअरी, २०२६) अपलोड गरिएको यस गीतमा अहिलेसम्म जम्मा २४ हजार भ्यूज मात्र छन्। १९ सय लाइक र ४ सयभन्दा बढी कमेन्ट गरिएको छ। यसअघि बालेन शाहको युट्युब च्यानलमा उल्लेख्य भ्यूज देखिन्थ्यो तर हाल सामाजिक सञ्जालमा चर्चामा रहेको यो गीतमा त्यति धेरै भ्यूज छैनन्। कतिपयले अनुमान गरेका छन्, ‘तीन महिना अघि प्राइभेटमा राखिएको गीत अहिले पब्लिक गरिएको हुनसक्छ, त्यसैले भर्खर रिच बढ्न थालिएको छ।’ भिडियोको कमेन्टमा बीस्ट इन नेपाल नामका प्रयोगकर्ताले लेखेका छन्, ‘फेसबुकबाट आउने मान्छेहरू को–को हुनुहुन्छ?’ त्यस्तै, लभनेपाल–२ नामक प्रयोगकर्ताले यो गीतलाई ट्रेन्डिङमा ल्याएर राजतन्त्र पक्षधरहरूले गणतन्त्र हटाउनुपर्ने तर्क राखेका छन्। कमेन्टबक्समा प्रतिक्रिया बढ्दै गएको छ। केहिले त बालेनसँग यो गीतको भावनाअनुसार काम गर्न अनुरोध पनि गरेका छन्। अधिकांशले यो गीत बालेनले आफ्नो च्यानलमा राखेको भन्दै खुसी व्यक्त गरेका छन् भने कतिपयले व्यवस्था विरोधी बालेनको छवि अब स्पष्ट भएको भन्दै आलोचना गरेका छन्। भिडियोको थम्बनेलमा ‘शिरमाथि नेपाल आमा’ लेखिएको छ, जुन गीतको शीर्षक नै हो। थम्बनेलमा स्वयम्भू, गौतमबुद्ध, हिमाल र त्यसको सुरक्षा गर्ने हतियारधारी सेना देखाइएको छ। साथै, हात जोडेर प्राथना गरिरहेको एक वृद्धा पनि अगाडि देखिन्छिन्। तर, यो गीत बालेनको आधिकारिक युट्युब च्यानलभित्र गएर हेर्दा कतै देखिँदैन। सामाजिक सञ्जालमा सेयर गरिएको लिङ्कमा जान्छौं भने आधिकारिक च्यानलको नाममा भए पनि च्यानलभित्र उक्त पोस्ट छैन। गीतको थम्बनेल र आवाज सबै एआईबाट निर्मित जस्तो स्पष्ट देखिन्छ। सेयर गरिएको भिडियोको डिस्क्रिप्सनमा लेखिएको छ, ‘प्रोभाइडेड टु युट्युब बाइ डिस्ट्रोकिड’ अर्थात् यो भिडियो डिस्ट्रोकिडमार्फत च्यानलमा उपलब्ध गराइएको हो। यो गीत धर्मराज थापाले गाएको ‘शिरमाथि नेपाली आमालाई…’ गीतको लय र शब्दसँग मिल्दोजुल्दो सुनिन्छ। गीतमा महेन्द्र भनिएको ठाउँमा यसमा ज्ञानेन्द्र नाम प्रयोग गरिएको छ। धेरै नेपाली कलाकारहरूको युट्युब प्रोफाइल व्यवस्थापन गर्दै आएका एक विज्ञका अनुसार, यो कुनै भिडियो नभई केवल अडियो मात्र बज्ने ट्याक हो। अन्तर्राष्ट्रिय बजारमा ‘डिस्ट्रोकिड’ जस्ता एजेन्सीहरू छन्, जसले कलाकारको गीत युट्युब म्युजिक, एप्पल म्युजिक वा स्पोटिफाइमा पुर्‍याउने काम गर्छन्। यस्ता एजेन्सीमा कसैले पनि सजिलै फेसबुक खोल्ने जस्तो खाता खोल्न सक्छन्। उनले भने, ‘कसैले एआईबाट बनेको वा अरूको देशभक्ति गीतलाई यो एजेन्ट मार्फत युट्युबमा पठाएर चालाकीपूर्वक क्रिएटर्सको ठाउँमा ‘बालेन’ को नाम र प्रोफाइल लिंक गरिदिएको हुन सक्छ, क्लिकबेटका लागि। यो समस्या हामीले पनि भोगिरहेका छौं।’ दुई–चार महिनाअघि स्थापित गायकहरू सुशान्त केसी, समिर श्रेष्ठ र स्वप्न सुमनको आधिकारिक युट्युब प्रोफाइलमा पनि प्राविधिक गल्ती वा जानाजानी कसैले लोकदोहोरी गीतहरू लिंक गरिदिएको उदाहरण रहेका छन्। यसपटक बालेनको हकमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ। डिस्ट्रोकिड के हो? फेसबुक वा टिकटकमा सिधै भिडियो अपलोड गर्ने जस्तो, कुनै पनि कलाकारले आफ्नो गीत सिधै युट्युब म्युजिक, स्पोटिफाइ वा एप्पल म्युजिकजस्ता एपहरूमा अपलोड गर्न सक्दैन। त्यसका लागि बीचमा एउटा माध्यम चाहिन्छ जसलाई प्राविधिक रुपमा ‘डिजिटल डिस्ट्रीब्युटर’ भनिन्छ। डिस्ट्रोकिड यस्तै एउटा अन्तर्राष्ट्रिय स्तरको एजेन्सी हो। कलाकारहरूले डिस्ट्रोकिडमा आफ्नो खाता खोल्छन्, वार्षिक केही शुल्क तिर्छन्, र गीत तथा कभर फोटो त्यहाँ अपलोड गर्छन्। त्यसपछि डिस्ट्रोकिड उक्त गीतलाई सबै म्युजिक एपहरूमा पठाइदिन्छ र त्यहाँबाट हुने आम्दानी कलाकारलाई दिन्छ। डिस्ट्रोकिडमा कसैले पनि सजिलै खाता खोल्न सक्छ जो फेसबुकमा नयाँ अकाउन्ट खोल्ने जस्तै हो। यसले गीत आधिकारिक छ कि छैन भन्ने कुरामा ध्यान दिंदैन, अधिकारिता पनि जाँच्दैन। यही लुपहोल प्रयोग गर्दै कुनै व्यक्तिले अकाउन्ट खोलेर अरूको गीत अपलोड गरेर कलाकारको स्थानमा ‘बालेन’ लेखेर पठाउन सक्छ। डिस्ट्रोकिडले बिना परीक्षण त्यो गीत युट्युब म्युजिकमा पठाउँछ र युट्युबको सिस्टमले नाम मिल्ने बित्तिकै उक्त गीतलाई बालेनको प्रोफाइलसँग लिंक गर्न सक्छ। यसरी डिस्ट्रोकिडमार्फत बालेनको युट्युब च्यानलसँग सम्बन्ध जोडिएको हुनसक्ने विशेषज्ञहरूको धारणा छ। यद्यपि, यो बालेनको युट्युब च्यानलमा लिङ्क भएको पहिलो गीत होइन। केही दिनयता अर्को गीत ‘ह्याप्पी होली, बाइबाइ ओली’ पनि चर्चामा छ र त्यसमा पनि उस्तै प्रतिक्रिया देखिन्छ।