
११ जेठ, काठमाडौं । अमेरिका र इरानबीच केही मुद्दामा सहमति पुगेको समाचार आएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग केही मुद्दामा सहमति भएको बताएका छन्। तर उनले तुरुन्तै कुनै सम्झौतामा हस्ताक्षर हुने सम्भावनाबारे स्पष्ट जानकारी दिएका छैनन्। यसअघि आइतबार इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका–इरानबीच एकदेखि दुई मुद्दामा मात्र मतभेद बाँकी रहेको जानकारी दिएका थिए।
इरानी विदेश मन्त्रालयका प्रवक्ता बगाईले सहमतिको ढिलाइ हुनुको कारण अमेरिकी अधिकारीहरूको विरोधाभाषपूर्ण दृष्टिकोण र वार्ताकै बीचमा आक्रमण गर्ने अमेरिकी इतिहास रहेको बताएका छन्। यसअघि सोमबार भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग आज सोमबार युद्ध अन्त्य गर्ने समझदारी हुने सम्भावना औंल्याएका थिए। नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले भनेका थिए, ‘हामी अझै पनि त्यही काम गरिरहेका छौं। जस्तो मैले पहिलो पटक भनेको थिएँ, हामीलाई लाग्थ्यो सायद हिजो राति केही खबर आउँला। तर आज आउँला।’ उनले अमेरिकाले बलियो प्रस्ताव प्रस्तुत गरेको पनि बताएका छन्, जसमा स्ट्रेट अफ होर्मुज खोल्ने र निर्दिष्ट समयमा परमाणु सम्बन्धी वार्ता सुरु गर्ने विषयहरू समावेश छन्।

