
११ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ मा सहभागी हुन २६ राष्ट्रका १७६ सगरमाथा आरोहीहरू काठमाडौं आइरहेका छन्। एभरेस्ट अलायन्स नेपालले आयोजना गर्ने यस कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको सहकार्य रहेको छ र यो समिट जेठ २७ गते काठमाडौंमा आयोजना हुँदैछ। यस वर्ष विश्वका २६ राष्ट्रका १७६ सगरमाथा आरोहीहरूलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने जानकारी एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले दिए।
‘हामीले गतवर्षदेखि सगरमाथा आरोहीहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका थियौं,’ उनले भने, ‘पहिलो संस्करण भव्य रूपमा सम्पन्न हुनुले यसको महत्व र दायरा स्पष्ट पारेको छ।’ समिट नेपालमा मात्र नभएर विश्वव्यापी मञ्च पनि बनेको उनी बताउँछन्।
‘यसपटक नेपाल सरकारको प्रत्यक्ष सहकार्य र समन्वयले हामी थप उत्साहित भएका छौं,’ उनले थपे। हिमालयको भविष्यका लागि एकजुट स्वर बनाउने र विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस तथा योगदानलाई कदर गर्ने उद्देश्यले यो समिट आयोजना गरिएको आयोजकले जानकारी दिए। यसले नेपालको पर्वतीय पर्यटनलाई विश्वमञ्चमा अझ उचाइ दिलाउन र साहसी आरोहीहरूको सम्मानमा सहयोग पुग्ने आशा गरिएको छ। यस संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थित हुनेछन्। उनी ‘समिटर्स ब्रेकफास्ट’ कार्यक्रममा सहभागी भई आरोहीहरूसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ। –रासस

