
कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र दक्षिण कोरियाली राजदूत पार्क ते–योङबीच द्विपक्षीय सहकार्य सुदृढ गर्ने सहमति भएको छ। मन्त्री चौधरीले डिजिटल कृषि र जलवायु-स्मार्ट खेतीका लागि कोरियाबाट थप प्राविधिक सहयोगको अपेक्षा व्यक्त गरिन्। ११ जेठ, काठमाडौं – यस भेटघाटमा नेपाल र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रहरूमा भइरहेको साझेदारीलाई अझ सुदृढ र प्रभावकारी बनाउने सहमति भएको जानकारी दिइयो।
राजदूत पार्कले कोरियाली सहयोगमार्फत नेपालमा वितरण गरिएका १०८ वटा उन्नत जातका गाई (हिफर) बाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी गराए। स्थानीय जातको तुलनामा दूध उत्पादन दोब्बर भएको र तेस्रो पुस्तासम्मका बाछाबाछीहरू जन्मिसकेको उल्लेख गर्दै उनले सिन्धुली क्षेत्रमा आगामी दिनमा ‘पशुपन्छी क्लस्टर हब’ विकास गर्ने योजना रहेको बताए।
कोरिया कोइका मार्फत तराई क्षेत्रका लागि ‘जलवायु अनुकूलित धान उत्पादन आयोजना’ र तरकारीको मूल्य शृङ्खला विकाससम्बन्धी कार्यक्रम अघि बढाइएको छ। मन्त्री चौधरीले कोरियाली सहयोगप्रति आभार व्यक्त गर्दै वर्तमान सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को सुदृढीकरण साथै आधुनिक दुग्ध प्रविधिको विस्तारमा प्राथमिकता दिएको बताइन्।
भेटवार्तामा दुवै पक्षले नेपाल र कोरियाबीचको दीर्घकालीन सम्बन्धलाई फलदायी बनाउन र ‘लर्न एन्ड अर्न’ जस्ता कार्यक्रमहरू थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

