Skip to main content

सन्धिखर्क नगरपालिकाबाट कर सेवा सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गर्दै स्थानीय तहबाटै करदाता सेवा सुरु गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअघि सामान्य कर सेवा लिन कपिलवस्तुको कृष्णनगरसम्म जानुपर्ने झन्झट सन्धिखर्कका ३५ सयभन्दा बढी करदाताका लागि अन्त्य भएको छ।

सन्धिखर्क नगरपालिकामा ३५ सयभन्दा बढी करदाता सेवाग्राही रहेका छन्। स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सेवाग्राहीहरू सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै उत्साहित भएका छन्। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ब्यानर वाचन गर्दै उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवा कार्यालयको शुभारम्भ घोषणा गरेका हुन्।

शुभारम्भकै अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रालिका सञ्चालक राजन आचार्यलाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र नगर उपप्रमुख मिश्रा आचार्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले प्रमाणपत्र हस्तान्तरण गरी सेवाको औपचारिक शुरुआत गरेको जानकारी दिइएको छ। नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकारले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरेको बताए।

उनले अब नागरिकले सामान्य कर सेवा लिन टाढा जान नपर्ने व्यवस्था भएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिए। प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कर सेवा अब प्रविधिमार्फत अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने बताए। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाग्राहीका दरबन्दी सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयबाट प्रदान गरिने आयकर सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले स्थानीय तहबाट सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे। उनले भने, नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ। यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राहीहरूलाई कपिलवस्तुको कृष्णनगरसम्म जानुपर्थ्यो। अब आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध हुन थालेपछि ठूलो राहत हुनेछ। नगरपालिकाले पहिलोपटक सञ्चालनमा ल्याएको कर सेवा कार्यालयले व्यवसायी, उद्योगी र सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ। कर सेवा स्थानीय तहबाट सञ्चालन भएपछि नागरिकमैत्री शासन व्यवस्था अझ मजबूत हुने अपेक्षा गरिएको छ।