Skip to main content

फेसन केवल लुगा मात्र होइन, आत्मविश्वासको अभिव्यक्ति हो

समाचार सारांश सामाजिक सञ्जालमा अरूसँग तुलना गर्ने बानीले मानिसको आत्मविश्वास कमजोर पार्ने भएकाले आफ्नो शरीरलाई स्वीकार्नुलाई फेसनको पहिलो पाठ मानिन्छ। आजको डिजिटल युगमा फेसन मानिसको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको विषय बनेको छ। सामाजिक सञ्जाल, टिकटक, फिल्म, सेलिब्रिटी संस्कृति र निरन्तर परिवर्तन हुँदै गरेका ट्रेन्डहरूले हरेक व्यक्तिलाई कुनै न कुनै रूपमा प्रभावित गरिरहेका छन्। बिहानदेखि बेलुका मोबाइलमा विभिन्न प्रकारका फेसन, मेकअप, स्टाइल र ‘परफेक्ट’ शरीरका तस्वीरहरू हेर्न पाइन्छ। त्यसैले धेरैलाई एउटै प्रश्न उठ्छ, ‘किन त्यो लुगा अरूलाई जस्तो मलाई राम्रो लाग्दैन?’ धेरै पटक मानिसहरूले मनपरेका सेलिब्रिटी, इन्फ्लुएन्सर वा साथीको स्टाइल नक्कल गर्न खोज्छन्। उनीहरूले लगाएको लुगा किन्छन्, उस्तै हेयरस्टाइल बनाउँछन्, उस्तै मेकअप गर्छन्, तर त्यसपछि पनि आफूलाई त्यति आत्मविश्वासी वा आकर्षक महसुस हुँदैन। यसको मुख्य कारण हो कि फेसन केवल लुगा मात्र होइन, यो व्यक्तित्व, शरीरको बनावट, आत्मस्वीकारोक्ति र जीवनशैलीसँग सम्बन्धित विषय हो। सबैभन्दा पहिला आफूलाई बुझ्न सिक्नुपर्छ। अरूसँग तुलना नगरी आफ्नो शरीर, सहजता र व्यक्तित्वलाई आधार बनाएर स्टाइल बनाउनु आवश्यक छ। हामी सबै फरक छौं। कसैको आँखा, कसैको नाक, कसैको शरीर, कसैको उचाइ फरक हुन्छ। यही फरकपन नै हाम्रो सुन्दरता हो। तर हामी त्यो स्वीकार गर्नुअघि अरूजस्तै बन्न खोज्ने गर्छौं। तुलना गर्ने बानीले कसरी आत्मविश्वास कमजोर पार्छ? आजभोलि धेरै मानिसको सबैभन्दा ठूलो समस्या निरन्तर तुलना हो। सामाजिक सञ्जालमा कसैलार्ई राम्रो देख्दा आफूलाई कम आँकलन गर्ने बानी बढिरहेको छ। कुनै अभिनेत्रीले लगाएको ड्रेस राम्रो लाग्यो भने त्यही लुगा किनिन्छ। कुनै टिकटक क्रिएटरको फेसन भाइरल भयो भने त्यही पछ्याउने प्रयास हुन्छ। तर समस्या तब सुरु हुन्छ, जब त्यही लुगा आफूले लगाउँदा असहज महसुस हुन्छ। त्यसपछि धेरैले ‘म राम्रो छैन’, ‘मेरो शरीर ठीक छैन’, ‘मलाई केही पनि सुहाउँदैन’ भन्ने निष्कर्ष निकाल्न थाल्छन्। समस्या लुगामा होइन, तुलना गर्ने सोचमा छ। हामीले अरूलाई हेरेर आफूलाई मूल्यांकन गर्न थालेका छौं।

उसको जस्तो आँखा, नाक, शरीर भए मात्र राम्रो देखिन्छ भन्ने सोच बनिसकेको छ। तर हामीले आफ्नै शरीरलाई कहिल्यै धन्यवाद दिईनौं। मानिसहरूले आफ्नो शरीरलाई धेरै पटक केवल बाहिरी सौन्दर्यको आधारमा हेर्छन् तर शरीरले दैनिक जीवनमा गर्ने कामको कदर कमै गर्छौं। हामीसँग आँखाहरू छन्, जसले संसार देखाउन सक्छन्। कान छन्, जसले सुन्न सक्षम बनाउँछन्। हात छन्, जसले काम गर्न मद्दत गर्छन्। यी कुरालाई सम्मान गर्न सिक्नुपर्छ। जबसम्म मानिसले आफूलाई अरूसँग तुलना गर्न छोड्दैन, तबसम्म कुनै पनि फेसनले आत्मविश्वास दिन सक्दैन। आफ्नो शरीर बुझ्नु नै फेसनको पहिलो पाठ हो। धेरैले फेसन भनेपछि ट्रेन्ड, ब्रान्ड वा महँगो कपडाहरू सम्झन्छन्, तर वास्तवमा फेसन सुरु हुन्छ आफ्नो शरीर बुझ्नबाट। लुगा त शरीरमै लगाइने हो। शरीर नबुझे फेसनलाई कसरी बुझ्न सकिन्छ? हरेक व्यक्तिको शरीर फरक हुन्छ। कसैको टिपमा तौल बढी देखिन्छ, कसैको पाखुरामा, कसैको पेट वरिपरि। कपडा लगाउँदा कसैलाई ऊपर टाइट हुन्छ भने कसैलाई तल। यही कुराले शरीरको बनावट, अर्थात् बडी सेपको सङ्केत गर्छ। सामान्यतया मानिसको शरीरलाई पाँच प्रकारमा विभाजन गरिन्छ: त्रिभुजाकार, उल्टो त्रिभुजाकार, आयताकार, गोलो र आवरग्लास अर्थात् हेर्दा डमरू आकार जस्तो देखिने शरीर। तर कुनै पनि मानिस पूर्णरूपमा एउटै सेपमा फिट हुँदैन, केवल मिल्दोजुल्दो संरचनामा पर्छ।

हामी आफैंलाई ‘पियर शेप’, ‘एप्पल शेप’ जस्ता नामले चिनाउँछौं, त्यो केवल शरीरको सन्तुलन बुझ्ने माध्यम हो। आफूलाई कुनै फलसँग तुलना गरेर तनाव लिनु आवश्यक छैन। शरीरको बनावट बुझिसकेपछि कपडा छनोट सजिलो हुन्छ। कुन फिटिङ सहज हुन्छ, कुन कट राम्रो देखिन्छ, कुन कपडाले शरीरलाई सन्तुलित देखाउँछ भन्ने थाहा हुन्छ। कस्तो शरीरलाई ‘आइडल बडी’ भन्ने? फेसन उद्योगले लामो समय ‘परफेक्ट बडी’ को धारणा बनायो, तर अहिले त्यो सोच परिवर्तन हुँदैछ। आइडल बडी भन्नु गलत हो। सौन्दर्य मापदण्ड समाज र संस्कृतिअनुसार फरक-फरक हुन्छ। कुनै देशमा गोरो छाला सुन्दर मानिन्छ भने कतै गहुँगोरो रङलाई आकर्षक मानिन्छ। कतै ठूलो ओठ राम्रो मानिन्छ भने कतै लामो घाँटी। त्यसैले आफूलाई मोडल वा सेलिब्रिटीसँग तुलना गर्नु उचित हुँदैन। मोडलहरूले आफ्नो शरीरमा धेरै समय खर्च गर्छन्, जीवनशैली, आहार, फाटनेस सबैमा केन्द्रित हुन्छन्। तर हाम्रो जीवन फरक छ। हामी अफिस जान्छौं, घर सम्भाल्छौं, बच्चा हुर्काउँछौं, दैनिक जिम्मेवारी पूरा गर्छौं। हरेक व्यक्तिसँग केही न केही असुरक्षा हुन्छ, तर धेरैले आफ्नो समस्या मात्र ठूलो सोच्छन्। पर्सनल स्टाइल बाह्य छैन, भित्र छ। मानिसहरू ‘मलाई कस्तो स्टाइल सुहाउँछ?’ भनेर धेरै सोच्दछन्। यसको जवाफ बजारमा, टिकटकमा वा सेलिब्रिटीमा होइन, आफैँभित्र हुन्छ र खोज्नुपर्छ। पर्सनल स्टाइल भन्नाले आफूलाई सहज, आत्मविश्वासी र स्वाभाविक महसुस गराउने शैली हो। ‘आफूलाई के मनपर्छ, कुन रङ लगाउँदा राम्रो देखिन्छ, कुन कपडा सहज महसुस हुन्छ, कुन स्टाइल आफ्नो व्यक्तित्वसँग मेल खान्छ’ — यही बुझ्ने प्रक्रिया नै पर्सनल स्टाइल हो। जब मानिसले आफ्नो स्टाइल पहिचान गर्छ, तब अरूसँग तुलना गर्न आवश्यक पर्दैन। जब इनर वर्ल्ड र आउटर वर्ल्ड मेल खान्छ, त्यसबेला आउने आत्मविश्वासलाई कसैले हराउन सक्दैन। तर दराज भरिए पनि ‘लगाउने केही छैन’ जस्तो लाग्नुको कारण के हो? यो समस्या विशेष गरी महिलाहरूमा हुन्छ। दराज कपडाले भरिएको हुन्छ तर बाहिर जान्छन् भने ‘मसँग लगाउन केही छैन’ जस्तो लाग्छ। यसको कारण फेसनको कमी होइन, स्पष्टताको अभाव हो। धेरैजसो मानिसले ट्रेन्ड, सेल, अरूको सल्लाह वा ‘फोमो’ का कारण कपडा किन्छन्। आफूलाई वास्तवमा के चाहिन्छ भन्ने नबुझी किनमेल हुँदा वार्डरोब भरिन्छ, तर प्रयोगमा आउने कपडा कम हुन्छ। यसलाई भान्सासँग तुलना गर्न सकिन्छ। हामी दैनिक जीवनमा भात र दाल चाहिन्छ, तर यदि किचन सस, स्न्याक्स र ब्रेडले मात्र भरिएको छ भने समस्या हुन्छ। वार्डरोब पनि त्यसैगरी हुन्छ। यदि प्रायः अफिस जानु छ भने अफिस वेयर बढी हुनु पर्छ। यदि जीवनशैली साधारण छ भने पार्टी वेयर मात्र धेरै हुँदा काम लाग्दैन। धेरै मानिस ट्रेन्डको पछाडि लाग्छन्। एउटा सिजन भाइरल कपडा अर्कोमा चल्दैन। परिणामस्वरूप दराज भरिन्छ तर दैनिक जीवनका लागि आवश्यक कपडा अभाव हुन्छ। अफिस वेयरमा सादगी किन महत्वपूर्ण छ? अफिस फेसनमा सबैभन्दा महत्वपूर्ण कुरा सादगी र बहुउपयोगिता हो। अफिसका लागि न्यूट्रल रङहरू उपयुक्त छन् जस्तै: कालो, सेतो, बेझ, क्यामेल, ग्रे, नेभी ब्लु। यी रंगहरू सजिलै अरू रंगहरूसँग मिलाउन सकिन्छ। सुसज्जित फिटिङ भएको सर्ट, साधारण टिसर्ट, फर्मल प्यान्ट, ब्लेजर वा कोट जस्ता आधारभूत कपडा वार्डरोबमा हुनु आवश्यक छ। पहिलो चरणमा राम्रो क्वालिटीका बेसिक लिनुपर्छ, त्यसपछि लुगा मिसाउन सजिलो हुन्छ। आमा बनेपछि फेसन सेन्समा किन परिवर्तन आउँछ? आमा हुनु महिलाको जीवनमा सबैभन्दा ठूलो परिवर्तनहरूमध्ये एक हो। शरीर, भावना, समय, प्राथमिकता र आत्मछवि सबै परिवर्तन हुन्छ। धेरै महिला बच्चा जन्माएपछि आफूलाई बिर्सन्छन्। ‘मैले दुई वर्षदेखि ऐनामा आफूलाई हेरेको छैन’ भन्ने धेरै महिला भेटिन्छन्। बच्चाको हेरचाहमा यति धेरै समय र मानसिकता खर्च हुन्छ कि महिलाले आफूलाई प्राथमिकतामा राख्न बन्द गर्छन्। शरीरमा आएको परिवर्तनले आत्मविश्वासमा कमी ल्याउँछ। साथै समाजको टिप्पणीले समस्या झन झन् गहिरो बनाउँछ। ‘कति मोटाएकी’, ‘अहिलेसम्म घटेन’, ‘पहिले कस्ती थिई अहिले कस्ती भइन्’ जस्ता टिप्पणीहरूले महिलालाई मानसिकरूपमा कमजोर बनाउँछ। आमा बनेपछि आफूलाई कसरी प्राथमिकतामा राख्ने? आमा बनेपछि पनि महिलाले आफूलाई पूर्णरूपमा बिर्सनु हुँदैन। मानसिकरूपमा स्वस्थ हुनु र खुसी भइरहनु जरूरी छ। जब आफू खुसी हुन्छ, त्यो खुसी परिवारमा पनि बाँड्न सकिन्छ। यसका लागि ठूलो परिवर्तन आवश्यक छैन। साना-साना सेल्फ केयर रिचुअलहरूले ठूलो फरक पार्न सक्छ। बिहान केही मिनेट आफ्नो लागि समय निकाल्ने, कपाल मिलाउने, स्किन केयर गर्ने, आफूलाई मनपर्ने कपडा लगाउने जस्ता कुराले आत्मविश्वास फर्काउन सहयोग गर्छ। घरमै बस्नुपर्छ भने पनि पुराना कपडा लगाउनै पर्ने होइन। घरमै बस्दा पनि आफूलाई राम्रो महसुस गराउने कपडा लगाउनु पर्छ। नयाँ आमाहरूका लागि आरामदायी र स्टाइलिश फेसन बच्चा जन्माएपछि धेरै महिलाले आफ्नो शरीर लुकाउन अत्यधिक ठूलो कपडा लगाउने गर्छन्। तर शरीर लुकाउने होइन, सहज तरिकाले प्रस्तुत गर्ने प्रयास गर्नुपर्छ। नयाँ आमाहरूका लागि कटनका आरामदायी कुर्ता, सर्ट ड्रेस, फ्लोइ स्कर्ट, साधारण टप, लाइट आउटवेयर र सहज फिटिंग भएका कपडा उपयुक्त हुन्छ। विशेष गरी छाती र पेट क्षेत्रहरूमा परिवर्तन आउँदा त्यहाँ आरामदायक डिजाइन रोज्नुहोस्। शरीरको त्यो भागलाई हाइलाइट गर्न सकिन्छ जसले आत्मविश्वास बढाउँछ।