मलेसियामा पुरुषमाथि यौन दुर्व्यवहारका उजुरीहरू तीव्र रूपमा बढ्दैछन्

मलेसियामा पुरुष पीडितहरूमाथि यौन दुर्व्यवहारका उजुरीहरू तीव्र गतिमा बढिरहेका छन्। सन् २०२४ देखि महिला, परिवार तथा सामाजिक विकास मन्त्रालयमा एक हजारभन्दा बढी यस्तो पुरुष पीडितका उजुरीहरू दर्ता भएका छन्। महिला, परिवार तथा सामाजिक विकास मन्त्री दातोक श्री न्यान्सी सुक्रीले यो तथ्य सार्वजनिक गरेकी हुन्।
उनको भनाइ अनुसार, यस बढ्दो उजुरी संख्या मलेसिया प्रहरीको तथ्याङ्कसँग पनि मेल खान्छ। यसले देशव्यापी रूपमा सञ्चालन भएका सचेतना अभियानहरू सफल रहेको देखाउँछ। यी अभियानहरूले पीडितहरूलाई अगाडि आउन प्रोत्साहित गरेका छन्। मन्त्री न्यान्सीले पुरुष पीडितहरूका उजुरीमा अनावश्यक शारीरिक सम्पर्क र सहमतिबिना जथाभाबी छुने जस्ता घटनाहरू पनि समावेश भएको जानकारी दिइन्।
मन्त्री न्यान्सीको मतमा, उजुरीको संख्या वृद्धि हुनुको अर्थ पीडितहरू आफ्ना अधिकारसम्प्रति सचेत भइसकेका छन् र अब चुपचाप सहन नचाहने भएको देखिन्छ।

