Skip to main content

नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक संसदमा पेश

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ दर्ता गर्नुभएको छ। यो विधेयक वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्ने र डिजिटल करन्सीसँग सम्बन्धित व्यवस्था स्पष्ट पार्ने उद्देश्यले ल्याइएको हो। विधेयकमा नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी र पारदर्शी बनाउन कानुनी सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

१२ जेठ, काठमाडौं। नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ संसदमा पेश भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो। नेपालको आर्थिक दिगो विकासमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मूल्य तथा शोधनान्तर स्थिर राख्दै समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेयक ल्याइएको हो।

अर्थमन्त्री डा. वाग्लेका अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा आएका परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रविधिको प्रयोग र केन्द्रीय बैंकको भूमिकामा आएको विकासलाई ध्यानमा राख्दै वर्तमान ऐनका केही व्यवस्थाहरू थप स्पष्ट, व्यवस्थित र समयानुकूल बनाउन विधेयकको उद्देश्य रहेको बताए। विशेष गरी बैंकको उद्देश्य, गभर्नर र सञ्चालकको नियुक्ति तथा पदमुक्ति सम्बन्धी व्यवस्था, वित्तीय स्थायित्व कायम गर्ने संयन्त्र, डिजिटल करन्सीसँग सम्बन्धित व्यवस्था र नियामक अधिकारलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य विधेयकले राखेको छ। नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी सुधार आवश्यक रहेको अर्थमन्त्री वाग्लेले विधेयकको उद्देश्य र कारणमा उल्लेख गरेका छन्।