Skip to main content

गुजरातमाथि एकपक्षीय जितसहित बेंगलुरु फाइनलमा प्रवेश

साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा पुगेको छ। मंगलबार आयोजित पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको निर्णायक जित निकाल्दै बेंगलुरुले फाइनलमा स्थान बनाएको हो। बेंगलुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९ दशमलव ३ ओभरमा १६२ रनमा अलआउट भयो। राहुल तेवातियाले बनाएको अर्धशतक मात्र सांत्वना रहयो; उनले ४३ बलमा ६८ रन बनाएका थिए। अन्यतर्फ जस बट्लरले २९ र साइ सुदर्शनले १४ रन जोडेका थिए।

बेंगलुरुका लागि जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पान्ड्याले २-२ विकेट लिए। जोश हेजलवूडले १ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रन बनाएको थियो। कप्तान रजत पाटिदारले ३३ बलमा अविजित ९३ रनको भव्य पारी खेले। पाटिदारले ९ छक्का र ५ चौका प्रहार गरेका थिए। २० रनमा पहिलो विकेट गुमाएपछि उनले थप ७३ रन जोड्दै रोयल च्यालेन्जर्सलाई बलियो स्थिति दिलाए। विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन बनाएका थिए। भेनकटेश अय्यरले १९ रन बनाउँदा जितेश शर्मा १५ रनमा अविजित रहे।

गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिए भने प्रसिद्ध कृष्णाले १ विकेट लिए। यस जितसँगै बेंगलुरुले सिधै फाइनलमा स्थान बनाएको छ भने पराजित गुजरातलाई अझ एक मौका प्राप्त हुनेछ। आईपीएलमा बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच इलिमिनेटर खेल खेलिनेछ। इलिमिनेटरको विजेताले गुजरातसँग फाइनल प्रवेशका लागि भिड्नेछ।