
१२ जेठ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव बक्राहा खोला किनारमा सडेको अवस्थामा फेला परेको छ। सविता मृत अवस्थामा फेला परेपछि प्रहरीले उनका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ। सविता शनिबार बिहान ९ बजे घरबाट निस्किएकी थिइन्। उनी घरबाट निस्कनुअघि परिवारमा सामान्य विवाद भएको भनिएको छ। त्यसयताका ४ दिनसम्म उनी सम्पर्कविहीन थिइन्। त्यसपछि परिवारले प्रहरीलाई खबर नै नगरेको बताइएको छ।
मंगलबार बिहान शव फेला परेपछि प्रहरीले पति दिलबहादुरमाथि आशंका गरेर अनुसन्धान थालेको जनाएको छ। दिलबहादुरले प्रहरीले सोधपुछका क्रममा सामान्य भनाभनपछि हिँडेको बताउँदै आफैं खोजिरहेको बताएका छन्। प्रहरीका अनुसार आज बिहान राँगा चराउन गएका स्थानीयले बक्राहा खोला किनारको काँसघारीमा शव देखेका थिए। घोप्टो परेको अवस्थामा देखिएको शव कपडाका आधारमा सविताकै रहेको पुष्टि भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले शरीर पूरै सुन्निएको र सडिसकेको कारण पोस्टमार्टम रिपोर्टले मात्रै घटनाको वास्तविकता स्पष्ट पार्ने बताएका छन्। शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ। सविताका माइती पक्षले पति दिलबहादुर र परिवारका सदस्यमाथि अनुसन्धान गर्न माग गरेका छन्।

