Skip to main content

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लविरुद्ध हुम्लामा काठ तस्करीको उजुरी दर्ता

अध्यक्ष मल्ल र स्थानीयले बरामद गरेका सामग्रीहरू। १३ जेठ, हुम्ला। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लसहित चार जनाविरुद्ध काठ तस्करी गरेको आरोपमा हुम्लामा मुद्दा दर्ता भएको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–३ लाम्पाटा च्याचउर वन क्षेत्रमा काठ र वन्यजन्तु तस्करी गर्ने आरोपमा हिमाली गाउँपालिकाका अध्यक्ष मल्लसहित चार जनाविरुद्ध उजुरी दर्ता गरिएको हो। थला सामुदायिक वन क्षेत्रमा अध्यक्ष मल्लको योजनामा काठ तस्करी भएको दाबी गर्दै उजुरी दर्ता गरिएको छ।

डिभिजन वन कार्यालय हुम्लाका अनुसार, हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, वडा नम्बर ३ का नरबहादुर गुरुङ, वडासदस्य पेमा गारा गुरुङ र हिमाल गुरुङविरुद्ध उजुरी परेको छ। थला सामुदायिक वनका अध्यक्ष देवराज रावल लगायतको टोलीले ती चार जनाविरुद्ध उजुरी दर्ता गराएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले जानकारी दिएका छन्। गोब्रे सल्लाका काठ काट्न प्रयोग हुने दुई थान स्वचालित आरा, ७०० थान रूखका फल्याङ्ग, जंगलमा भेटिएको राष्ट्रिय पक्षी डाँफेको आधा शरीरको भाग र दुर्लभ जनावरको छाला पेमा गुरुङको घरमा फेला परेको उजुरीमा उल्लेख छ। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०७९ र वन ऐन २०७६ अनुसार कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख कुमाइले बताएका छन्। उनका अनुसार अनुसन्धानका लागि अधिकारी तोकेर वन्यजन्तुको पहिचानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। – नरजन तामाङ