
१३ जेठ, काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले सरकारले समग्र मधेशलाई दुई प्रदेशमा विभाजन गर्ने व्यवस्था गर्न सुझाव दिएको छ। पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई समग्र मधेशलाई पुन: पूर्वी र पश्चिमी मधेश नामले दुई प्रदेशमा विभाजन गर्न सुझाव दिएको छ। अठार जिल्लालाई मधेश प्रदेशमा राखेर बाँकी जिल्लालाई अन्य प्रदेशमा राख्दा मधेश र थरुहटका जनताले असम्मानित महसुस गरेको तमलोपाको भनाइ छ।
संविधान जारी भएदेखि नै प्रदेशहरूको सिमांकन विवादास्पद भएको उल्लेख गर्दै तमलोपाले भन्यो, ‘मधेशका आठ जिल्ला बाहेकका क्षेत्र जबर्जस्ती अन्य प्रदेशमा समेटिएका छन्। यहाँका मधेश र थरुहटका जनताले आफ्नो पहिचान र स्वशासनको हकमा असम्मान महसुस गरेका छन्। हामी समग्र मधेशलाई पूर्वी र पश्चिमी मधेश गरी दुई प्रदेशको रूपमा पुनर्सिमांकनको माग गर्दछौं।’ तमलोपाले संविधान संशोधन सम्बन्धमा निर्वाचन प्रणाली, शासकीय स्वरूप लगायतका विषयमा आठ बुँदे सुझाव पनि प्रस्तुत गरेको छ। संघीयतालाई बलियो बनाउनुपर्नेमा उसको जोड छ।
सुझाव पत्रमा लेखिएको छ, ‘संविधान संशोधनद्वारा संघीयतालाई कमजोर पार्ने वा यसको स्वरूप परिवर्तन गरी शक्तिको केन्द्रीकरण गर्ने कुनै पनि प्रयास स्वीकार्य छैन।’ प्रदेशलाई निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक प्रणाली अपनाउन सुझाव दिएको छ। ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेशलाई निर्वाचन क्षेत्र मान्दै पूर्ण समानुपातिक प्रणाली लागू गरियोस्,’ उसले भनेको छ। राष्ट्रिय सभामा पनि जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने उसको माग छ। तमलोपाले नेपालको शासकीय स्वरूपको लागि ‘वेष्टमिनिस्टर बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था’ सबैभन्दा उपयुक्त हुने बताएको छ। साथै स्थानीय सरकारको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने व्यवस्था गर्न पनि तमलोपाले सुझाव दिएको छ।

