
अस्पतालमा बिरामी। स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा रोक्ने निर्णय गरेको छ। बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र बढ्दो वित्तीय संकटका कारण यो निर्णय लिएको जनाएको छ। यस निर्णयसँगै देशभरका निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले प्राप्त गर्दै आएका ओपीडी, शल्यक्रिया लगायतका नियमित सेवाहरू प्रभावित हुनेछन्।
सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पुगेको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ्दो आर्थिक संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा भनेको छ कि जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुनेछन्।
बोर्डको २०८३ जेठ ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। यससँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका गरिएको छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उदेश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अस्थिरता, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा परेको छ। वर्षौँदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको छ र त्यस्तै दबाबमा अन्ततः बोर्डले सेवा कटौती गर्नुपर्ने अवस्था आएको स्रोतहरूले जनाएका छन्।

