
काठमाडौंमा सम्पन्न दोस्रो ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ भिन्न–भिन्न देशका १७६ सगरमाथा आरोहीहरूलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको छ। सगरमाथाको ३२औं पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पालाई लाइफटाइम अचिभमेन्ट पुरस्कार प्रदान गरिएको छ। कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित ‘समिटर्स ब्रेकफास्ट’ मा राष्ट्रपति रामचन्द्र पौडेलले सहभागिता जनाउँदै सगरमाथा आरोहीहरूसँग भेटघाट गरेका थिए। १३ जेठ, काठमाडौं।
दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ समारोहमा २६ देशका कुल १७६ सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको छ। एभरेष्ट अलायन्स नेपालले आयोजना गरेको तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौंमा सम्पन्न भव्य कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो। आरोहीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजन संस्था एभरेष्ट अलायन्सका अध्यक्ष सुदर्शन नेपाल, नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीहरूका संघ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेल र अन्यले सम्मान गरेका थिए।
कार्यक्रममा पर्यटन मन्त्री पौडेलले सगरमाथा आरोहीहरूका साहस र दृढ सँकल्पको प्रशंसा गर्दै सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। मन्त्री पौडेलले आरोहीहरूको सुरक्षामा सुधार, आपतकालीन उद्धार प्रणालीको सुदृढीकरण र स्थानीय हिमाली समुदायको आर्थिक सशक्तिकरणमा विशेष ध्यान दिनुपर्ने विषय उठाए। उनले हिमालय क्षेत्रमा देखिएका जलवायु परिवर्तनका गम्भीर असरहरूमा चिन्ता व्यक्त गरे। उहाँका अनुसार हिमनदीको पग्लने क्रम, जैविक विविधताको ह्रास र बढ्दो फोहोर व्यवस्थापनका चुनौतीहरू थपिँदै गएको छ।
वरिष्ठ पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका सञ्चालक मिङ्मा शेर्पाले नेपालका हिमालहरूले विश्वभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको उल्लेख गर्दै हिमाल आरोहणमा शेर्पा गाइडहरूको भूमिका महत्वपूर्ण रहेको बताए। एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोहीहरूलाई सम्मान गर्ने उद्देश्यले गतवर्षदेखि आयोजना गरिएको एभरेष्ट समिटिएर्स समिट कार्यक्रमले दोस्रो संस्करणसम्म आइपुग्दा आफ्नो दायरा विस्तार गरेको बताउनुभयो।
अर्कोतर्फ, उहाँले आगामी दिनहरूमा सबैसँग समन्वय गर्दै कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन निरन्तर प्रयास गरिने जानकारी दिनुभयो। अध्यक्ष नेपालका अनुसार हिमालयको भविष्यका लागि एकताबद्ध आवाज बुलन्द गर्नु र विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीहरूको अद्वितीय साहस र योगदानलाई मान्यता दिन यही कार्यक्रम आयोजना गरिएको छ। यसले नेपालको पर्वतीय पर्यटनलाई विश्वस्तरमा अझ उचाइमा पुर्याउन र साहसी आरोहीहरूको सम्मान गर्न सहयोग पुग्नेछ।

