Skip to main content

दक्षिण कोरियाली युट्युबर किम से-उईलाई अभिनेता किम सु-ह्यानमाथि झुटो आरोप लगाएको अभियोगमा पक्राउ

फोटो क्रेडिट : Getty-Images

दक्षिण कोरियाली अभिनेता किम सु-ह्यानमाथि मानहानीको झुटो आरोप लगाउने अभियोगमा युट्युब च्यानल संचालक किम से-उईलाई पक्राउ गरिएको छ। अभियुक्तले एआई प्रयोग गरी नक्कली आवाज र सन्देश तयार गरी अभिनेता र नाबालिग अभिनेत्रीबीचको सम्बन्धको झूटा प्रचार गरेका थिए। यस भ्रामक प्रचारले अभिनेता किम सु-ह्यानको सामाजिक प्रतिष्ठा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको प्रहरीले जनाएको छ।

प्रसिद्ध दक्षिण कोरियाली अभिनेता किम सु-ह्यानमाथि मानहानी र चरित्र हत्या सम्बन्धी झुटो आरोप लगाएको अभियोगमा एक युट्युबर पक्राउ भएका छन्। ‘होभर ल्याब’ नामक चर्चित युट्युब च्यानल सञ्चालन गर्ने किम से-उईलाई अदालतको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो। सियोल केन्द्रीय जिल्ला अदालतले उक्त युट्युबरले प्रमाणहरू नष्ट गर्न वा भाग्न सक्ने भएकाले मंगलबार पक्राउ पूर्जी जारी गरेको जानकारी दिइएको छ।

किम से-उईले एआई प्रौद्योगिकी प्रयोग गरी नक्कली आवाज र सन्देशका स्क्रिनसटहरू बनाएर अभिनेता किम सु-ह्यानले एक नाबालिग अभिनेत्री सँग डेट गरेको झूटो प्रचार गरेका थिए। यस विवादका कारण चलचित्र र विज्ञापन क्षेत्रमा स्थापित अभिनेता किम सु-ह्यानको करियर नै ठप्प भएको थियो। पक्राउ हुनु अघिदेखि नै उक्त युट्युबरले आफ्नो विरुद्ध लागेका आरोपहरू अस्वीकार गर्दै प्रहरी र सरकारी वकिलमाथि उजुरी गर्ने घोषणा गरिसकेका थिए। यो विवाद गत वर्ष २४ वर्षको उमेरमा आत्महत्या गरेकी अभिनेत्री किम से-रोनको मृत्युपछि सुरु भएको थियो।