
१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्ष पदका लागि विमल रिजाल निर्विरोध रूपमा निर्वाचित भएका छन्। बिहीबार तुलसीपुरमा सम्पन्न तेस्रो अधिवेशनबाट रिजाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। उनी प्रदेश तेक्वान्दो संघका संस्थापक अध्यक्ष पनि हुन्। तदर्थ समिति सहितको गणना गर्दा, यो रिजालको तेस्रो नियमित कार्यकाल हो।
रिजालको अध्यक्षतामा तुलसीपुरको कृष्ण मन्दिर नजिकै तेक्वान्दो सभाहल निर्माण सम्पन्न भएको थियो, जसमा उनको महत्वपूर्ण योगदान रहेको थियो। अधिवेशनले उपाध्यक्षमा विनिल केसी र राजिवसिंह क्षेत्रीलाई निर्विरोध चयन गर्यो भने कोषाध्यक्षमा देवबहादुर केसी निर्वाचित भए। विनिल यसअघि कार्यसमितिको सचिव थिए भने देवबहादुर केसी सदस्य थिए।
सचिव पदमा मोहन सुनारलाई मनोनित गरिएको छ। यस अधिवेशनबाट कार्यसमितिका सदस्यहरु रितु राना, बमबहादुर विक, दुर्गाबहादुर खड्का, सचिन पौडेल, डम्मरबहादुर बुढाथोकी, वीरबहादुर रावत ‘विरु’, दीपेन्द्र रिजाल, सपना बस्नेत, नारायणीकुमारी वली, श्याम घले र सावित्रा गुरुङ निर्विरोध चयन भएका छन्, जसको जानकारी निर्वाचन समितिका संयोजक पारेश्वर भट्टराईले दिएका छन्।

