Skip to main content

केन्याको बोर्डिङ विद्यालयमा आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ घाइते

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिम गिलगिलस्थित एउटा बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने थप ७४ जना घाइते भएका छन्। घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारलाई यो जानकारी दिएका छन्। उनले आगलागीबाट घाइते भएका ती ७४ विद्यार्थीहरू अस्पतालमा उपचाररत रहेको पनि बताएका छन्।

केन्या रेडक्रस तथा प्रहरीले जनाएको अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको थियो। प्रहरी उद्धार तथा राहत कार्य जारी रहेको जनाएका छन्। अधिकारीहरूले आगलागीको कारण हालसम्म अनुसन्धान भइरहेको बताएका छन्। केन्या रेडक्रसको आपतकालीन प्रतिक्रिया टोलीहरूले घटनास्थलमा पुगेर सहयोग पुर्याइरहेका छन्।

‘यो अत्यन्तै दुखद र पीडादायी अवस्था हो,’ प्रहरी कमाण्डर मसुद म्विनीले विद्यालय बाहिर भेला भएका अभिभावक तथा स्थानीयहरूलाई सम्बोधन गर्दै भनेका छन्। विगतका वर्षहरूमा यस्तै धेरै घातक घटनाहरू भएका छन्। होस्टलमा विद्यार्थीहरूको संख्या धेरै हुनु र सुरक्षा नियमहरूको पालना नहुनुले प्रायः यस्ता घटनामा उच्च संख्यामा मृत्यु हुने गरेको विश्लेषण गरिएको छ।