कजाखस्तानले भारतलाई सीधे सेटमा पराजित गर्दै काभा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्यो

१४ जेठ, काठमाडौं । भारतलाई पराजित गर्दै कजाखस्तानले काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरे। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कजाखस्तानले अपराजित भारतलाई सीधे सेटमा हरायो।
कजाखस्तानले पहिलो सेट २५-२१ ले जितेर अग्रता लिएको थियो। दोस्रो सेटमा पनि उत्तिकै दबाब कायम राख्दै भारतले केही चुनौती दिएको भए तापनि कजाखस्तानले २५-१७ को सेट जित्दै २-० को अग्रता बनायो। तेस्रो सेटमा कजाखस्तानले एकपक्षीय प्रदर्शन गर्दै सहजै २५-१४ को स्कोरले जित हासिल गर्यो।
भारत समूह ए मा तीनै खेल जितेर समूह विजेता बनेको थियो भने कजाखस्तान समूह बी मा दुई जित र एक हारसहित उपविजेता बनेको थियो। अब कजाखस्तानले बिहीबार हुने दोस्रो सेमिफाइनलमा इरान र नेपालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल-इरान खेल साँझ ५ बजे सुरु हुनेछ भने फाइनल खेल शुक्रबार आयोजना गरिनेछ।

