
१४ जेठ, काठमाडौं । दोलखाको हिलस्टेसन चेर्दुङ (३,६९० मिटर) को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ। जिरी उपत्यका र सुरी गाउँको शिरमा रहेको हिलस्टेसन चेर्दुङका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको हो। एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ वटा तस्वीर राखिएका छन्। ती तस्वीरहरूमा गौरीशंकर हिमशृंखला, स्थानीय जीवनशैली, जिरी उपत्यका, झ्याँकु गाउँ, साइकलिङ, स्थानीय संस्कृति आदिका प्रतिबिम्ब समावेश छन्।
विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत एवं पर्यटन विज्ञ आङछिरिङ शेर्पाले प्रदर्शनीको उद्घाटन गरेका हुन्। उनले चेर्दुङसँगका अनुभवहरू बाँड्दै प्रदर्शनीबाट चेर्दुङ चम्कने विश्वास व्यक्त गरे। प्रदर्शनी उद्घाटन समारोहमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँले लगायतले शुभकामना व्यक्त गरेका थिए। पत्रकार लामाले आफ्नो जन्मथलोप्रतिको अभिभारा पूरा गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाएका थिए।
चेर्दुङको परिचय दोलखाको चेर्दुङ आफैंमा प्रकृति र अध्यात्मको दोभान हो। यहाँबाट हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनोहारी दृश्य नियाल्न पाइन्छ। डाँडाबाट गौरीशंकर हिमालसँग आँखा जुधाउँदा स्वर्गलोकमा पुगेको अनुभूति हुन्छ। मनको तनाव, पीडा र अप्ठेरोबाट मुक्ति मिल्छ। चेर्दुङले जिरी नगरपालिकाका चार र गौरीशंकर गाउँपालिकाका दुई वटामा फैलिएको छ। चेर्दुङबाट पश्चिमदेखि पूर्वसम्म हिमालको लामो श्रृंखलाको दर्शन हुन्छ। पूर्वी भेकबाट ब्रम्श: नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीशंकर, आमा बामरे, गणेश र गोर्खा हिमालहरू देख्न सकिन्छ।
चेर्दुङ धार्मिक दृष्टिकोणबाट हिन्दु र बौद्धमार्गीको साझा तीर्थ मानिन्छ। डाँडाको शिरमा चेर्दुङेश्वर महादेव मन्दिर छ। नजिकै एउटा ठूलो ढुङ्गामा गुरु रिम्पोचे (पद्यसम्भव) का पाइला छन्। हिन्दुहरू चेर्दुङेश्वरलाई त्रिशूल चढाउँछन् भने बौद्धमार्गीहरू रिम्पोचेको सम्मानमा धर्ज्यू र लुङ्दार फर्फराउँछन्। चेर्दुङेश्वरको पूजा गर्दा रोगव्याध नलाग्ने, वन्यजन्तुले चौपायलाई दु:ख नदिने जनविश्वास छ। यहाँ चण्डी पूर्णिमामा मेला लाग्ने गर्छ। बौद्धमार्गीहरूको मतअनुसार गुरु रिम्पोचे हिमाली भेगमा बौद्ध धर्म फैलाउने क्रममा यहाँ आएका थिए। यहाँ आएर उनले ध्यान गरे। डाँडामा ध्यान केन्द्रित गर्नका लागि ओढार पनि छ।

