लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन, मुख्यमन्त्रीले ट्रमा सेन्टर स्थापना गर्ने घोषणा

१४ जेठ, काठमाडाैं। लामो विवादपछि लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार एक कार्यक्रमका क्रममा अस्पतालको उद्घाटन गरेका हुन्। प्रादेशिक अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताए। साथै उनले लम्कीचुहा प्रादेशिक अस्पताललाई अब ट्रमा सेन्टरमा परिणत गर्ने बाटो खुलेको बताए। ‘५० शैयाभन्दा कम भएका अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न कठिन हुन्छ। त्यसैले प्रादेशिक अस्पतालको संरचना आवश्यक भएको हो,’ उनले भने।
मुख्यमन्त्री शाहले लम्कीचुहा अस्पताल प्रक्रियागत रूपमा नै प्रादेशिक भएको दाबी गर्दै सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसंग पनि सम्झिए। ‘अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण बनाइनु पर्ने थियो, जुन भएन,’ उनले भनें। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ देखि प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको उनले बताए।
सोही नीतिअनुसार चालु आव २०८२/८३ मा ती अस्पतालहरूको स्तरोन्नति प्रक्रिया अघि बढाइएको र पहिलो चरणमा डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको उनले बताए। यसका लागि बजेटको व्यवस्था गरिएको र संघीय सरकारबाट समेत स्वीकृति प्रदान गरिएको मुख्यमन्त्री शाहले स्मरण गराए। तर, प्रदेश सरकारले पटकपटक पत्राचार गरे तापनि लम्कीचुहा नगरपालिकाले असहयोग गरेकाले ढिलाइ भएको पनि उनले दाबी गरे। यस विषयमा लम्कीचुहा नगरपालिका र प्रदेश सरकारबीच अनौपचारिक विवाद पनि देखा परेको छ। उद्घाटनपछि मुख्यमन्त्री शाहले कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरी १०० शैयाको अस्पताल बनाउने योजना रहेको पनि बताए। यस्तै, प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तार गरिने र उक्त सेवा लम्कीचुहा प्रादेशिक अस्पतालमा पनि यसै वर्षबाट सुरु गरिने जानकारी मुख्यमन्त्रीले दिए।

