Skip to main content

राजदुत पदका लागि पहिलो पटक खुला दरखास्त आह्वान, आवेदन कसले दिन पाउने?

परराष्ट्र मन्त्रालयले पहिलोपटक निर्देशिका अनुसार योग्यता निर्धारण गरी राजदुत पदका लागि खुला दरखास्त आह्वान गरेको छ। राजदुत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर, स्नातक तह उत्तीर्ण र अंग्रेजी भाषामा राम्रो ज्ञान भएको नेपाली नागरिक हुनुपर्ने छ। इच्छुकहरूले आगामी जुन ५ भित्र आवेदन दिनुपर्नेछ र संसदीय अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ। १४ जेठ, काठमाडौं। सरकारले पहिलोपटक राजदुत नियुक्तिमा खुला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले इच्छुकहरूलाई आगामी जुन ५ भित्र आवेदन पेश गर्न भनेको छ। मन्त्रालयले आवश्यक योग्यता र कार्य क्षेत्रका सन्दर्भमा निर्देशिका पनि सार्वजनिक गरेको छ। राजदुत बन्नका लागि कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ। विशिष्ट पद भएकाले न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्य अनुभवमा प्राथमिकता दिइनेछ। परराष्ट्र मन्त्रालयले दरखास्त सबै स्क्रिनिङ गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। मन्त्रिपरिषदले योग्य व्यक्तिलाई राजदुत सिफारिस गर्छन् र संसदीय सुनुवाइ पश्चात राष्ट्रपतिले नियुक्ति आदेश गर्नेछन्। नियुक्तिपछि राजदुतहरूले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी कार्यक्षेत्रमा जानुपर्ने हुन्छ।

मन्त्रिपरिषद्को स्वीकृत ‘राजदुत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९ अनुसार) बमोजिम यो दरखास्त आह्वान गरिएको हो। योग्यता र सर्तहरू के-के छन्? निर्देशिका अनुसार राजदुत बन्नका लागि उम्मेदवारले निम्न योग्यता पूरा गरेको हुनुपर्नेछ: कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने। नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने। सरकारी सेवाबाट बर्खास्त नभएको, भ्रष्टाचार वा नैतिक पतनको फौजदारी सजाय नलिएको हुनुपर्ने। कुनै विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने। नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव र अंग्रेजी भाषामा दक्ष हुनुपर्ने। प्रस्तावित मुलुकमा कुनै स्वार्थ नभएको र गैरसरकारी संस्था वा विदेशी सहयोगबाट सञ्चालित निकायमा कार्यरत नहोने। पहिले कुनै विदेशी सरकारमा तलब पाउने पदमा नियुक्त भएमा कम्तीमा १० वर्ष भइसकेको हुनुपर्ने। अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी वा कर्पोरेट तहको नेतृत्व गरेको र प्रस्तावित देशको भाषा जान्नेलाई प्राथमिकता दिइनेछ। आवेदन कसरी पेस गर्ने? योग्य इच्छुकले मन्त्रालयको वेबसाइटमा पुगेर वा तोकिएको आवेदन फारम भरी व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। मन्त्रालयले प्राप्त दरखास्तबाट प्रारम्भिक छानबिन गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। मन्त्रिपरिषदको निर्णयपछि संसदीय सुनुवाइ समिति र सम्बन्धित देशको सहमति पाएपछि राष्ट्रपतिद्वारा औपचारिक नियुक्ति हुनेछ।