
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीहरूको भन्सार र स्वच्छ पूर्वाधार लगानी शुल्क वृद्धि गर्ने निर्णय गरेको छ, जसका कारण लक्जरी गाडीहरूको मूल्यमा वृद्धि हुने भएको छ। नयाँ नियमअनुसार ५० लाख रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय गाडीमा थप ११० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यसअघि मोटर क्षमताको आधारमा मात्र भन्सार लाग्थ्यो, तर अब व्यवसायिक मूल्यका आधारमा कर निर्धारण गरिनेछ।
१५ जेठ, काठमाडौं। आगामी आर्थिक वर्षदेखि लक्जरी विद्युतीय गाडीहरूको मूल्य बढ्ने भएको छ। सरकारले मूल्यको आधारमा भन्सार र स्वच्छ लगानी योगदान शुल्क वृद्धि गरेकाले गाडीको मूल्यमा वृद्धि हुनेछ। आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीमा मूल्यअनुसार २० प्रतिशत भन्सार र ११० प्रतिशतसम्म स्वच्छ लगानी योगदान शुल्क तोकिएको छ।
अहिलेसम्म विद्युतीय गाडीमा मोटर क्षमताका आधारमा भन्सार लाग्दै आएको थियो। सरकारले विद्युतीय गाडी आयात गर्नेबेला भन्सारमा कायम गरिएको कारोबार मूल्य २० लाख रुपैयाँसम्मका गाडीमा २.५ प्रतिशत मात्र स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरेको छ। त्यस्तै, कारोबार मूल्य ३० लाखभन्दा बढी र ४० लाखसम्मका मोटर गाडीमा अतिरिक्त १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ।
करोबार मूल्य ४० देखि ५० लाख रुपैयाँसम्म भएका गाडीमा थप ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने नियम लागु गरिनेछ। कारोबार मूल्य ५० लाखभन्दा बढी भएका गाडीमा थप ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। भन्सार महसुल निर्धारण गर्ने क्रममा तोकिएको मूल्यमा भन्सार महसुल थप गरी त्यसमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने सरकारले जनाएको छ।






