
समाचार सारांश: रोनक उप्रेती र स्वस्तिका चौधरीले तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगितामा च्याम्पियन बनेका छन्। यस वर्ष पहिलो पटक टप-रोपको सट्टा प्राविधिक रूपमा कठिन लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको हो। सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। १५ जेठ, काठमाडौं।
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङको तेस्रो संस्करणमा रोनक उप्रेती र स्वस्तिका चौधरीले उपाधि जितेका छन्। शुक्रबार काठमाडौंस्थित एस्ट्रेकमा सम्पन्न प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन घोषित भएका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजिए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा भएको थियो।
पुरुषतर्फ रोनक उप्रेती विजेता जबकि मिर्को लेरोस दोस्रो र तेन्जिङ बर्तिन राई तेस्रो स्थानमा रहे। महिलातर्फ स्वस्तिका चौधरीले च्याम्पियनको उपाधि हासिल गरिन् भने याङ्किला शेर्पा दोस्रो र पञ्चमाया तामाङ तेस्रो स्थानमा रहेका छन्। दुवै विधाका विजेताले रु ५० हजार, दोस्रो स्थानधारीले रु ३० हजार र तेस्रोले रु २० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको फाइनल चरणमा १२ खेलाडी पुगेका थिए, जसमा ६ पुरुष र ६ महिला थिए। पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा समावेश थिए।
फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशेष अतिथिका रूपमा तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङ नोर्गे सहभागी भएका थिए। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पा, यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन च्याप्टर संयोजक लक्षुमन तामाङ र नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका महासचिव सन्तोष मादेन लगायतको उपस्थिति रहेको थियो। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङले पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको कारण यस वर्षको प्रतियोगिता विशेष रहेको बताए। यसअघि दुई संस्करण टप–रोप क्लाइम्बिङ विधामा आयोजना हुँदै आएको थियो।
प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेललाई प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु भएको आयोजकले बताएको छ। तेन्जिङ नोर्गे शेर्पाको सम्झनामा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको हो। अध्यक्ष गुरुङका अनुसार मे २९ को ऐतिहासिक दिनलाई लक्षित गरी यस वर्ष प्रतियोगिता विशेष रूपमा आयोजना गरिएको छ। ‘यसअघि मे २९ लाई प्रायः र्याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइन्थ्यो,’ उनले भने, ‘यस वर्ष पहिलो पटक प्राविधिक रूपमा लिड क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिएको छ जसले नेपालका क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्नेछ।’ उनले इतिहाससँग सम्बन्धित यो महत्वपूर्ण दिनमा सञ्चालन गरिएको प्रतियोगिताले तेन्जिङ नोर्गेको साहस र पर्वतारोहण क्षेत्रमा उहाँको योगदानप्रति उच्च सम्मान प्रकट गरेको बताए। आयोजकको भनाइअनुसार यस प्रतियोगिताले नेपालमा विकासशील साहसिक आरोहण खेल संस्कृतिलाई अझ प्रोत्साहन गर्दै युवा पुस्तालाई साहसिक खेल र पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।






