Skip to main content

अन्तर्राष्ट्रिय पदक विजेतालाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य सेवा व्यवस्था

सरकारले अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई अवकाशपछि जीवनभर निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। उनले भने, “अन्तर्राष्ट्रिय पदक विजेतालाई अवकाशपछि सम्मानजनक जीवनयापन गर्न सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।”

मन्त्री वाग्लेले आगामी ३ वर्षमा कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइट सहित स्तरोन्नति गर्ने र प्रमुख ८ शहरहरूमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। साथै विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तीमा २ हजार दर्शक क्षमताका इनडोर मल्टिपर्पस स्टेडियम निर्माण गर्ने योजना पनि रहेको बताइयो।

उनका अनुसार मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीमा रहेको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिनेछ। खेलकुदप्रति रुचि र क्षमता भएका विद्यार्थीहरूलाई आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था पनि गरिनेछ। सुर्खेतमा सम्पन्न हुने १० औं राष्ट्रिय खेलकुद तथा मधेशमा प्रस्तावित ११ औं प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि बजेट विनियोजन गरिएको छ।