Skip to main content

अरु दलको समर्थन नपाउँदा चुनावमा जान बाध्य भएँ – केपी शर्मा ओली

१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई समाप्त गर्ने षडयन्त्र सधैं जारी रहेको बताएका छन्। शुक्रबार अपानि–२ मार्फत ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई समाप्त गर्ने षडयन्त्र भइरहेको सन्देश दिएका छन्। ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,’ ओलीले अपानिमा लेखेका छन्। २३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ गमन लागेको मुलुकलाई सही मार्गमा फर्काउन एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अघि सारेको उनले अपानिमा उल्लेख गरेका छन्। तर अन्य दलहरूले साथ नाराखेपछि चुनावमा जान बाध्य भएको स्पष्ट पारेका छन्। ‘प्रतिगमनतर्फ अग्रसर रहेको मुलुकलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले समर्थन नदिएको कारण हाम्रो पार्टीलाई पनि निर्वाचनमा जानु परेको हो,’ ओलीले लेखेका छन्। अरु दलको समर्थन नभएपछि भाग लिनुपरेको चुनावमा एमालेले जित्न नसकेको पनि उनले उल्लेख गरेका छन्। ‘निर्वाचनको परिणाम हाम्रो पार्टीको पक्षमा रहेन नै। नेपालका मुख्य लोकतान्त्रिक पार्टीहरुको पक्षमा समेत रहेन,’ ओलीले बताए। ओलीले निर्वाचन प्रक्रियामा पनि शंका व्यक्त गरेका छन् र यस सम्बन्धमा छुट्टै समीक्षा प्रतिवेदन ल्याइने कुरा पनि उल्लेख गरेका छन्। ‘यो निर्वाचन अघिल्लो निर्वाचन जस्तो रहेन। यसको परिणाम पनि स्वभाविक रहेन,’ अपानिमा लेखिएको छ, ‘यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने छ।’