
१६ जेठ, ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा प्रकाशित ‘ललितपुरको पत्रकारिता इतिहास’ नामक पुस्तक शनिबार औपचारिक रूपमा विमोचन गरिएको छ। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाको अवसरमा भएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उक्त पुस्तकको विमोचन गरेका हुन्। राउतले पुस्तकलाई ललितपुरको पत्रकारिता क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेजको रूपमा वर्णन गर्दै यस प्रकाशनका लागि शाखालाई आभार व्यक्त गरे। उनले लोकतान्त्रिक व्यवस्था अन्तर्गत पत्रकारहरूले वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै नागरिकहरूको मौलिक अधिकारको संरक्षणमा विशेष भूमिका निर्वाह गर्ने बताए।
सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो। राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो। उनीहरूले लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको हो। त्यसैगरी नयाँ सडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार र नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो।
दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सर रोगसम्बन्धी सचेतनामूलक पत्रकारितामा योगदान पुर्याएको भन्दै सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। यस्तै, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चार डटकमका केदारनाथ दाहाललाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निभाएको भन्दै ललितपुर पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विगत डेढ वर्षको अवधिमा पत्रकारहरूको व्यावसायिक विकासका लागि शाखाले विभिन्न तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।






