राष्ट्रपति ट्रम्पको स्वास्थ्य प्रतिवेदन: दैनिक तीन औषधि सेवन, तौल घटाउन सल्लाह

१६ वैशाख, काठमाडौं । ह्वाइट हाउसले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ मेडिकल रिपोर्ट सार्वजनिक गरेको छ। आगामी १४ दिनभित्र ८० वर्ष पूरा गर्न लागेका ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको जनाइएको छ। मेडिकल रिपोर्टअनुसार ट्रम्पले हाल कोलेस्ट्रोल र मुटुको उपचारका लागि कुल तीनवटा औषधि सेवन गरिरहेका छन्। ती मध्ये ‘रोसुभास्टाटिन’ र ‘एजेटिमिब’ कोलेस्ट्रोल नियन्त्रणका लागि हुन् भने मुटु सम्बन्धी रोगबाट बच्न कम डोजको ‘एस्पिरिन’ दिइएको छ।
ह्वाइट हाउसका डाक्टर सन पी. बार्बाबेलाले ट्रम्पको स्वास्थ्य अत्यन्तै राम्रो रहेको र उनी राष्ट्रपतिको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सक्षम रहेको बताएका छन्। रिपोर्टमा उनको मुटु (कार्डियाक), फोक्सो र स्नायु (न्युरोलोजिकल) स्वास्थ्य धेरै सुदृढ रहेको उल्लेख गरिएको छ।
२२ विशेषज्ञ डाक्टरद्वारा गरिएको स्वास्थ्य परीक्षण ट्रम्पको यो मेडिकल चेकअप मंगलबार ‘वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टर’ मा गरिएको थियो। ह्वाइट हाउसका अनुसार २२ जना विशेषज्ञ डाक्टरहरूले उनको स्वास्थ्य परीक्षण गरेका थिए। यस क्रममा सीटी स्क्यान, हार्ट इमेजिङ, क्यान्सर स्क्रिनिङ र विभिन्न रोग प्रतिरोधात्मक परीक्षणहरू समावेश थिए। रिपोर्टमा ट्रम्पको संज्ञानात्मक (कग्निटिभ) र शारीरिक प्रदर्शन उत्कृष्ट रहेको उल्लेख छ।
डाक्टरहरूले ट्रम्पको व्यस्त कार्यतालिका, निरन्तर बैठकहरू, सार्वजनिक कार्यक्रमहरू र शारीरिक गतिविधिहरूले उनको समग्र स्वास्थ्यमा मद्दत पुर्याइरहेको बताएका छन्।
डाक्टरले तौल घटाउन सुझाव दिएका छन्। मेडिकल रिपोर्टअनुसार, ट्रम्पको तौल हाल २३८ पाउन्ड (लगभग १०८ किलो) पुगेको छ। अघिल्लो अप्रिल २०२५ को परीक्षणमा उनको तौल २२४ पाउन्ड (करीब १०१.६ किलो) थियो। रिपोर्टमा ट्रम्पको उचाइ ६ फिट ३ इन्च उल्लेख छ। डा. बार्बाबेलाले ट्रम्पलाई तौल घटाउन, स्वस्थ आहार अपनाउन र थप शारीरिक व्यायाम गर्न सल्लाह दिएका छन्।
रिपोर्टमा उनको मुटुको स्वास्थ्य (कार्डियोभास्कुलर) र तौल नियन्त्रण सम्बन्धी सल्लाहहरू समावेश छन्।
पहिले देखि ट्रम्पको हातमा देखिएका डामको विषयमा पनि रिपोर्टले स्पष्टता दिएको छ। डाक्टर बार्बाबेलाका अनुसार, बारम्बार मानिसहरूसँग हात मिलाउने र एस्पिरिन सेवन गर्ने कारण उनका हातमा हल्का निशानहरू देखा पर्ने गरेका छन्। यद्यपि केही स्वतन्त्र डाक्टरहरूले यस दाबीमा प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार ट्रम्प दायाँ हातले काम गर्छन्, तर निशानहरू बायाँ हातमा बढी देखिएका थिए।
रिपोर्टमा ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निने समस्या रहेको उल्लेख छ, जुन अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ, यद्यपि यस विषयमा विस्तृत जानकारी दिइएको छैन।
अमेरिकी इतिहासकै सबैभन्दा पाका राष्ट्रपति ट्रम्प आगामी जुन १४ मा ८० वर्षका हुनेछन्। उनी अमेरिकी इतिहासमा राष्ट्रपतिका रूपमा सबैभन्दा पाका नेतामध्ये एक हुन्।
पछिल्लो वर्षमा उनको खुट्टाको सुन्निने समस्या, कतिपय कार्यक्रममा निदाएको देखिनु र घाँटीमा डाबर देखिएको चर्चा बढेको छ। ह्वाइट हाउसले पहिले नै ट्रम्पलाई ‘क्रोनिक भेनस इन्फिसिएन्सी’ भएको जानकारी दिइसकेको छ, जुन वृद्धावस्थासँग सम्बन्धित समस्या हो र खुट्टामा रक्त प्रवाहमा असर गर्छ। मार्चमा उनको घाँटीमा देखिएको डाबर छालाको उपचारकै कारण भएको बताइएको थियो।
यस बीच, ट्रम्प र उनका सहकर्मीहरूले उनीसँग कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको दाबी बारम्बार गर्दै आएका छन्। ट्रम्पले आफ्नो शारीरिक सहनशक्ति र मानसिक क्षमता आफ्नो सार्वजनिक छविको महत्वपूर्ण अङ्ग मान्ने गरेका छन्।
रिपोर्टमा ‘कार्डियाक एज’ को चर्चा पनि उल्लेखनीय छ। डाक्टर बार्बाबेलाले इलेक्ट्रोकार्डियोग्रामको आधारमा ट्रम्पको कार्डियाक एज अर्थात् मुटुको वास्तविक उमेर उनको वास्तविक उमेरभन्दा १४ वर्ष कम रहेको बताएका छन्। केही स्वतन्त्र डाक्टरहरूले यस्तो तथ्य रिपोर्टमा समावेश हुनु अनौठो भएको बताएका छन्।
ट्रम्पले मंगलबार चेकअपपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाल्टर रिड मिलिट्री मेडिकल सेन्टरमा मेरो ६ महिनाको फिजिकल (जाँच) पूरा भयो। सबै कुरा पूर्ण रूपमा उत्कृष्ट देखियो।’ यद्यपि धेरै डाक्टरहरूले ‘६ महिनाको फिजिकल’ भन्ने दाबीप्रति प्रश्न उठाएका छन्। हार्वर्ड मेडिकल स्कुलकी प्राध्यापिका तथा डाक्टर इशानी गांगुलीले भनेकी छन्, ‘सामान्यतया पूर्ण शारीरिक परीक्षण वर्षमा एकपटक हुन्छ। ६ महिनाको फलोअपलाई सामान्यतया पूर्ण फिजिकल भनिँदैन।’
(एजेन्सीहरुको सहयोगमा)






